भैरहवा, ९ असार - निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा जनदबाबका कारण राजपाले स्वतन्त्र उम्मेदवार उठाएको बताउनुभएको छ ।

यही असार १४ गते हुने निर्वाचनको वस्तुस्थिति बुझ्न रुपन्देही आउनुभएका आयुक्त पौडेलले आज यहाँ आयोजित अन्तक्र्रियामा अधिकारका लागि जनताले निर्वाचन चाहेकाले राजपाले स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएर जनताको भावना बुझी सकारात्मक सन्देश दिएको बताउनुभयो ।
उहाँले व्यवस्थित रुपमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मी र निर्वाचन अधिकृतलाई निर्देशन दिँदै जनताले भयरहित वातावरणमा मतदान गर्ने वातावरण तयार गर्न र आचारसंहिता पालनामा कडाइ गर्न स्थानीय प्रशासनलाई सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्लामा निर्वाचनको वातावरण उत्साहजनक रुपमा रहेको बताउँदै रुपन्देहीका प्रजिअ विनोदप्रकाश सिंहले सहरमा भन्दा गाउँमा प्रचारप्रसार बढी देखिएको ठोकुवा गर्नुभयो । रासस