
गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ । गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो ।
विभागले आज एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ ।
बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमूना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारवाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो । कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमूना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन ।
विभागले तीनै सिमेन्ट उद्योगका उत्पादनको बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ ।रासस