
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस उपसभापति विजयकुमार गच्छदारका छोरा शुभाष गच्छदार महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।
उनी थारु कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।
मधेशी महिला कोटामा पुनम सिंह महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसकेकी निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ५ मा क्षेत्रीय निर्वाचनमा सभापति लगायतका पदाधिकारी र महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
क्षेत्रीय सभापतिमा जीवछप्रसाद गच्छदार, सचिवद्वयमा वीरेन्द्र साह र मोहम्मद फैयाज, सहसचिवद्वयमा हरिप्रसाद ठाकुर र रोशन आलम तथा महाधिवेशन प्रतिनिधिमा राजेश गुप्तालगायत २४ जना सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।
क्षेत्र नम्बर ५ का सभापतिलगायत अधिकांश महाधिवेशन प्रतिनिधि देउवा समूहका रहेका छन् । क्षेत्र नम्बर ४ मा निर्वाचन सकिएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए ।
क्षेत्र नम्बर १ मा सभापति सचिव सहितका पदाधिकारी सर्वसम्मत छानिए पनि अन्य पदमा चुनाव भइरहेको जनाइएको छ । क्षेत्र नम्बर १, २, ३, र ६ मा कोइराला र देउवा समूह प्यानल बनाएर निर्वाचनमा भिडेका छन् ।