
बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि रसुवा–टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम निर्धारित समयमा सम्पन्न नहुने भएको छ ।
शिलान्यास भएको दुई वर्ष बितिसक्दा पनि सो बन्दरगाहको अहिलेसम्म भौतिक प्रगति १८ प्रतिशत मात्र रहेको छ । ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी २०७६ मङ्सिर ४ गते बन्दरगाहको शिलान्यास गरिएको थियो । २०७९ जेठभित्र बन्दरगाहको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको द्विदेशीय व्यापारमा थप सहज बनाउने उद्देश्यसहित निर्माण भइरहेको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण निर्धारित समयमा सम्पन्न नहुने स्पष्ट पारे। समितिका कार्यकारी निर्देशक गजुरेलले कोभिड–१९ को महामारीका कारण चिनियाँ प्राविधिक कामदार स्वदेश फर्केपछि लामो समयसम्म निर्माण कार्य हुन नसक्दा निर्धारित समयमा बन्दरगाहको काम सम्पन्न हुन नसक्ने देखिएको स्पष्ट पार्नुभयो । यस परियोजनामा सबै कामदार र प्राविधिक चीनका नै रहेका छन् ।
उनले भने, “अहिले द्रुत गतिमा आयोजनाको काम भइरहेको छ । आयोजनाको भौतिक प्रगति १८ प्रतिशत छ । अबको डेढ वर्षभित्र सम्पन्न भई सञ्चालनमा आइसक्ने छ ।” समितिका इन्जिनियर शोभाकान्त राउतले ५० हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको यस बन्दरगाहमा पाँचतले कम्प्लेक्स निर्माण भइरहेको जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।