
नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिवेशनको बन्दशत्र आज चितवनको सौराहामा शुरू भएको छ ।
बन्दशत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरु भएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।
बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष ओलीले सुदृढ पार्टी निर्माणका लागि समझदारी, सहमति र एकता मुख्य कुरा भएको बताएको सचिव भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्,'हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरु अताल्लीन थालेको छन्, जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन । एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंक्तिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ । पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने छ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ । अध्यक्ष ओलीले बन्दसत्रमा व्यक्त गर्नुभयो ।'
महाधिवेशनमा आएका विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरू तथा शुभकामना सन्देश पठाउनेहरूप्रति अध्यक्ष ओलीले धन्यवाद ज्ञापन गरेको उनले जनाएका छन् ।
बन्द सत्रमा विभिन्न देशका भाइचारा तथा मित्र पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका छन् ।
बन्दसत्रमा कम्युनिष्ट पार्टी अफ बंगलादेशका मो. हसन तारिक्यू चौधरी, हसनसिन चौधरी, अब्दुल्लाह अल काफी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का जोगिन्द्र शर्मा, जनता विमुक्ति पेरामुनाका विजिथा हेराथ, कम्बोडियन पिपुल्स पार्टीका स्वोस यारा, कम्यनिष्ट पार्टी अफ इण्डिया माले लिबरेशनका सन्दिप सौरभले महाधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
यसैगरी बन्दसत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय मामिला विभागका उपमन्त्री छेन चाओले पठाएको भिडियो सन्देश प्रस्तुत गरिएको थियो । भारतको काँग्रेस आइका अध्यक्ष सोनिया गान्धी लगायत भाइचारा तथा मित्र पार्टीले पठाएका शुभकामना सन्देश बाचन गरिएको थियो ।