
१४औं महाधिवेशनअन्तर्गत मोरङमा नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । बिहान ९ बजेदेखि मतदान शुरू भएको हो । मतदानका लागि ३ हजार ५८५ मतदाता छन् ।
विराटनगरको मनास्लु होटलमा भइरहेको मतदानमा मतदाता ल्याउन भारतीय गाडीको प्रयोग भएको छ । गाउँगाउँमा गएर आ–आफ्ना पक्षका मतदाताहरूलाई भारतीय नम्बर प्लेटको गाडीको प्रयोग गरेर ल्याउने गरिएको छ ।
यस्तै मतदानस्थलमा केही रोचक दृश्यहरू पनि देखिएका छन् । जिल्ला सह–सचिव भुवनेश्वर मण्डल राजवंशीले भने सन्थाल नाचमा बजाइने बाजाको प्रयोग गरेर मतदातालाई आफूप्रति आकर्षित गरिरहेका छन् । राजवंशी समुदायका युवाहरूले सन्थाल नाचसहित मण्डलको मत मागिरहेका छन् । खानेपानीको बोतलमा समेत उम्मेदवारहरूले आफ्नो फोटो प्रयोग गरिरहेका छन् ।
तीन नेताहरू मतदानका लागि प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । बहालवाला सभापति डिकबहादुर लिम्बु, पूर्वउपसभापति दिलिप गच्छदार र पूर्वसचिव यदु बिष्ट सभापतिका लागि चुनावी मैदानमा छन् ।
कांग्रेसले राजमार्ग नै अवरुद्ध गरेर जिल्ला अधिवेशन गरेपछि ट्राफिक प्रहरीलाई सडक जाम हटाउन हम्मेहम्मे परेको छ ।