जर्मनीको एक पुरातत्त्व संस्थानले टर्कीको पश्चिमी तटमा १४ हजार वर्ष पुरानो बस्तीको खोज गरेको छ ।
उक्त साइटको खोजी पोहोर साल टर्की र जर्मनीका वैज्ञानिकहरूको समूहले गरेको थियो । त्यहाँ डिकिली र बर्गमा शहरको बीचमा गुफाको उत्खनन गर्दा एपिपेलियोलिथिक कालको सामग्रीहरू भेटिएको हो ।
अनुसन्धानकर्ताहरूले रेडियोकार्बन विधिको उपयोग गरी पत्थरबाट बनेका हतियार र हाड जस्ता अन्य खोजलाई मिहिन तरिकाले जाँचेर तिनीहरू कति पुराना हुन् भनी पत्ता लगाएको हो ।
अन्य खोजहरू बैजन्टाइन र इस्लामी कालका साथै काँस्य युगसँग सम्बन्धित छन् ।
केही महिनाअघि टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको सहयोगमा बर्गामा म्युजियमको निर्देशनमा प्राचीन स्थलमा अनुसन्धान गर्न ६ हप्ताको उत्खनन अभियान चलाइएको थियो ।
उत्खनन गरिएको गुफामा शिकारीहरू बस्ने गर्थे ।
त्यसअघि फ्रान्सको लियोन शहरभन्दा १२८ किलोमिटर पर पुरातत्त्वविद्हरूले पुरानो राजधानी शहर खोजेका थिए । यस स्थानमा खोजी गर्नेहरूले सयौं किसिमका वस्तुहरू फेला पारेका थिए ।