
सर्लाहीको बरहथवामा एक महिला तथा उनका दुई जना छोराछोरी मृत अवस्थामा फेला परेका छन्।
बरहथवाकी २६ वर्षीया कविता हजारी घरमै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
यस्तै उनको ५ वर्षीय छोरा स्वागत पासवान र ८ वर्षीया छोरी सलुनी कुमारी पासवान पनि मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बरहथवाका एक प्रहरीले दिएको जानकारी अनुसार बिहान ६ बजे प्रहरी घटनास्थलमा जाँदा आमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
यस्तै मृतकको छोरा र छोरी पनि सुतेको अवस्थामा मृत फेला परेका थिए।
तीन वटै शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
मृतक कविताको पति शिवे हजारा विगत ४ वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा मलेशियामा कार्यरत छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमार शंकर प्रसाद यादवका अनुसार अहिले घटनाबारे अनुसन्धान जारी छ ।
'अहिलेसम्म मृतकका शरीरमा कुनै पनि निल डाम देखिएको छैन, पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्नेछ,' डीएसपी यादवले भने ।