
नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालसँग नगई एमालेमै रहेका १० भाइ नेताहरूमध्ये ५ जनालाई केन्द्रीय पदाधिकारी बनाउने गरी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका छन् ।
चितवनको सौराहमा जारी १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा ओलीले राखेको पदाधिकारीको प्रस्तावमा १० भाइमध्ये ५ जना नेताहरू परेका छन् ।
ओलीले उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवमा योगेश भट्टराई र गोकर्ण विष्टलाई अगाडि सारेका छन् ।
विगतमा माधव नेपाल पक्षमा रहेपनि पार्टी विभाजन हुँदा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त एमालेमै रहेका थिए ।
भीम रावलले अध्यक्षमै चुनाव लड्ने अडान लिएकाले ओलीको पदाधिकारी टीममा अटाएनन् । पार्टीमा फरक मत राख्दै आएका घनश्याम भुसाल समेत ओलीको टीममा परेनन् । भीम आचार्य, अमृत बोहरा र रघुजी पन्त समेत ओलीले प्रस्ताव गरेको पदाधिकारी टीममा परेका छैनन् ।