
जिल्ला निर्वाचन कार्यालय खोटाङले आसन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै २ चरणमा फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १० वटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा मंसिर १७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मंसिर २९ देखि आगामी पुस ९ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गर्ने तयारी गरिएको हो ।
पहिलो चरणमा केपिलासगढी, रावाबेंसी, साकेला र जन्तेढुंगा गाउँपालिकामा नामावली संकलन गरिने जनाइएको छ । दोस्रो चरणमा तुवाचुङ नगरपालिका, ऐसेलुखर्क, हलेसी दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली संकलन खटिने कर्मचारी मंसिर १३ र १४ गते छनोट गरिने जनाइएको छ ।
यसका लागि कार्यालयले आइतवार दिक्तेलमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटो सहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका नायब सुब्बा लोकेन्द्रकुमार राईले बताए ।
‘फोटो सहितको मतदाता नामावली संकलन गर्न प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइनेछ,’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरूपमा फोटो सहितको मतदाता नामावली संकलन भइरहेको छ ।’