
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दिएका छन् ।
विष्णु प्रसाद पौडेलको प्रस्तावमा शंकर पोखरेलको समर्थनमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
१० गतेदेखि चितवनको सौराहामा जारी छ महाधिवेशनमा अध्यक्ष पदमा भीम रावलले पनि उम्मेदवारी दिएका छन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रस्तावलाई चुनौती दिँदै रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि दुई नेताबीच प्रतिस्पर्धा हुन लागेको हो ।
व्यक्तिले नेतृत्व छान्ने प्रणाली पार्टी विधानको भावनाविपरीत रहेको भन्दै रावलले ओलीविरुद्ध उम्मेदवारी दिएका हुन् ।
एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीमा मतदान हुने भएको छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान हुने भएको हो । बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अोलीले ल्याएको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा मतदान हुने भएको हो ।