
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुनावी तालमेल हुने भएको छ ।
पहिलो चरणमा नतिजा नआएपछि मंगलवार भइरहेको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल हुने भएको छ ।
मंसिर १२ गते भएको मतदानमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलवार पुनः मतदान हुँदैछ ।
पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलिप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो ।
सभापतिका आकांक्षी डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बूलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एकठाउँमा आएका छन् ।
केन्द्रमा संस्थापनइतर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले देउवा पक्षका उम्मेदवार दिलिप गच्छदारलाई जिताउन चुनावी तालमेल गरेका छन् । कोइराला गृहजिल्लामा नै कमजोर रहेको सन्देश दिन सबै नेताहरू एकठाउँमा उभिएका स्रोतले जनाएको छ ।
पहिलो चरणको चुनावमा लिम्बूले सर्वाधिक १ हजार ५४४, गच्छदारले १ हजार १६६ र विष्टले ५६३ मत ल्याएका हुन् । कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेकाले मंगलवार पुनः मतदान हुँदैछ । दोस्रो चरणको मतदानको पूर्व सन्ध्यामा पौडेल, शशांक, सिंह, सिटौला निकटका जिल्ला नेताहरू एकठाउँमा उभिएका छन् ।
मंसिर १२ गते भएको मतदानमा तेस्रो मत प्राप्त गरेका विष्टले संस्थापन पक्षका गच्छदारलाई समर्थन गर्ने घोषणा पत्रकार सम्मेलनबाट गरेका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले पनि शेखर कोइरालाको साथ छाडेर सिटौलाको क्याम्पमा गई गच्छदारलाई समर्थन गरेका छन् । सिंह निकट राजु मास्केले पनि गच्छदारलाई समर्थन गरेका हुन् ।