
सात मध्ये ६ वटा प्रदेशमा नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश–२ मा विवादका कारण मनोनयन हुन नसकेपछि प्रदेश अधिवेशन प्रभावित भएको छ ।
त्यसबाहेक, प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।
प्रदेश–१ मा सभापतिका लागि संस्थापन इतरबाट गुरूराज घिमिरे र संस्थापन समूहका उद्धव थापा प्रदेश सभापतिका लागि उम्मेदवार बनेका छन् । संस्थापन समूहलाई कृष्ण सिटौला समूहले समर्थन गरेको छ ।
प्रदेश–१ मा तोकिएको समयभन्दा पाँच घण्टापछि मतदान शुरू भएको छ । केही उम्मेदवारको नाम मतपत्रमा छुटेपछि उत्पन्न भएको विवादको कारण मतदान समयमै शुरू हुन सकेको थिएन ।
जीवन नेपाली (दलित कोटा), शान्तिकला राई (महिला कोटा र श्याम खड्गी (भूगोल)तर्फका उम्मेदवारको नाम मतपत्रमा छुटेको थियो । उनीहरूलाई सर्वसम्मत चयन गर्ने सहमती भएपछि मतदान शुरू भएको थियो ।
बागमती प्रदेशमा तीन वटा समूहले कांग्रेस सभापतिका लागि प्रतिस्पर्धा गरिरहेको छ । संस्थापन इतर समूहबाट जगदिश्वरनरसिंह केसी र संस्थापन समूहबाट इन्दबहादुर बानियाँ सभापतिका उम्मेदवार छन् । कांग्रेस नेता सिटौलाको समूहबाट भीमसेनदास प्रधानलाई उम्मेदवार बनाइएको छ । बागमती प्रदेशमा पनि नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ ।
गण्डकी प्रदेशमा संस्थापन समूहका अर्जुनप्रसाद जोशी र संस्थापन इतरका शुक्रराज शर्मा सभापतिका लागि भिडिरहेका छन् ।
गण्डकी प्रदेशको सभापति चयन गर्ने मतदानमा मत दिन पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्न ३५ मिनेट भन्दा बढी समय लागेको थियो । उनले मतदान गर्ने ठाउँ अँध्यारो भएको, मतपत्र धेरै भएको र कतिपय उम्मेदवारलाई आफूले नचिनेका कारण पनि मतदान गर्न समय लागेको पौडेलले बताए ।
त्यसैगरी, लुम्बिनी प्रदेशमा संस्थापन समूहबाट भरत शाह र संस्थापन इतर समूहबाट अमरसिंह पुन सभापतिको आकांक्षी छन् । लुम्बिनीमा नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको छ । विहान ८ बजेबाट मतदान शुरू हुने भनिएपछि करीब तीन घण्टा ढिलो गरेर मतदान शुरू भएको थियो ।
कर्णाली प्रदेशमा संस्थापन इतरबाट भूपेन्द्रजंग शाही र संस्थापन समूहबाट ललितजंग शाही प्रदेश सभापतिका लागि उम्मेदवार बनेका छन् ।
कर्णालीमा मतपत्र छाप्न ढिलाइ भएको कारण समयमा मतदान शुरू हुन सकेन । उम्मेदवारहरूलाई मतपत्र डिजाइनको लागि बोलाइएको समय भन्दा ढिलो आएका कारण मतदान प्रक्रिया ढिलो भएको बताइएको छ ।
कर्णालीमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको थियो । समयमै मतपत्र छाप्न नसक्दा मतदान डेढ घण्टा ढिलो भएको थियो ।