अमेरिका र क्यानडाको सीमामा रहेको नियाग्रा फल्स झरनामा कार खसाउने एक महिलाको मृत्यु भएको छ ।
झरनाको पानी एकदमै चिसो भएकाले ती महिलाको जमेरै मृत्यु भएको हो ।
एक तटरक्षक गोताखोरलाई महिलाको उद्धारका लागि पठाइएको थियो । तर उद्धारकले महिलालाई मृत अवस्थामा फेला पारे ।
ट्विटरमा पोस्ट गरेको भिडियोमा बुधवार अपराह्न महिलाको गाडी नियाग्रा फल्समा दुई घन्टा जति फसेको देखिन्छ । अमेरिकाको न्युयोर्कस्थित प्रोस्पेक्ट पोइन्टमा कार फसेको हो ।
अधिकारीहरू अपराह्न १ बजे घटनास्थलमा पुग्दा महिलाले हलचल गरेकी थिइनन् ।
गोताखोरले कारको ढोका बन्चरोले हानेर भत्काएका थिए र कारबाट मृत शरीर निकाली हेलिकप्टरमा राखेका थिए ।
महिलाले पुलबाट झरनातर्फ जानाजान गाडी चलाएको खुलेको छ ।
अपराह्न २ बजेतिर झरनाबाट गाडीलाई उद्धार गरिएको थियो । तर कारमा खासै प्रमाण फेला नपरेको अधिकारीहरूले बताए ।