
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गतिहीन बनेको आरोप लगाएका छन् । राजनीतिक दलहरू अस्तव्यस्त रहेको उनले टिप्पणी गरे ।
कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता पौडेलले सरकार चलेजस्तो देखिए पनि गतिहीन अवस्थामा रहेको बताएका हुन् ।
‘हेर्दा नेपाल गतिहीन र अवरुद्ध अवस्थामा रहेको छ, संसदमा जुन किसिमको बन्द अवस्था छ । सर्वोच्च अस्तव्यस्त छ । सरकार गतिहीन अवस्थामा छ, पार्टीहरू अस्तव्यस्त छन्,’ पौडेलले भने ।
पौडेलले संविधानले गरेको व्यवस्थाअनुसार अगाडि बढ्न सक्यौँ कि सकेनौँ भनेर समीक्षा गर्नुपर्ने समय आएको उनले बताए । ‘के कारणले कम्युनिस्ट भन्दा कांग्रेस पछि पर्यो भन्ने कुराको समीक्षा गरे मात्र १४ औं महाधिवेशनको सार्थकता हुनेछ,’ पौडेलले भने ।
पौडेलले कार्यकर्ताले नेताको मूल्यांकन गर्ने साहस र आँट गरेमात्र पार्टी अगाडि बढ्न सक्ने बताए । ‘आफूले अन्याय सहेर पनि जहिले पनि पार्टी एकताको पक्षमा योगदान दिएको छु । पार्टीलाई कसरी सक्षम बनाउने भनेर लागिरहेको छु,’ पौडेलले भने ।