११ असार २०८३, बिहीबार

कांग्रेसको चुनावमा २९ किसिमका मतपत्र, उम्मेदवारको संख्या र पदअनुसार आकार र रंग

मंसिर २६, २०७८
कांग्रेसको चुनावमा २९ किसिमका मतपत्र, उम्मेदवारको संख्या र पदअनुसार आकार र रंग

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् ।

शुक्रवारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले शनिवार उम्मेदवारको मनोनयन दर्ता गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन् ।

पार्टीको निर्वाचनस्थल बाहिर पद्मोदय सडक तथा भृकुटीमण्डपभित्र आफ्ना नेताका पक्षमा भोट माग्नका लागि नेता तथा कार्यकर्ता बिहानदेखि नै व्यस्त छन् । उनीहरू नेताको व्यानर, ‘स्ट्याचु’ र श्रव्य सामग्री सुनाएर भोट मागिरहेका छन् । 

भोट माग्ने कार्यकर्ताका कारण भृकुटीमण्डप क्षेत्र वरपर भीडभाड भएको छ । यस्तै आफ्नो पक्षमा मत पार्नका लागि नेताले होर्डिङ बोर्डलाई प्राथमिकता दिएका छन् ।

काठमाडौंका विभिन्न प्रमुख सडक, निर्वाचन क्षेत्र वरपर र महाधिवेशन प्रतिनिधि बस्दै आएको होटलसम्म उम्मेदवारको होर्डिङ बोर्ड राखिएका छन् । यस्तै आफ्ना नेताका नाममा टोपी, टिसर्ट, जकेट, पानीका बोतल, कलम लगायतका सामग्री बनाएर प्रचारप्रसार गरिरहेका छन् । 

महाधिवेशनका लागि वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ र महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

सभापतिका उम्मेदवार देउवा र डा. कोइरालाले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् भने निधि, सिंह, गुरुङ र न्यौपानेले पूरा प्यानल बनाएका छैनन् । उम्मेदवार मनोनयन दर्ता, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ, दाबी विरोधउपर निर्णय र उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिवारै गरिसकिएको छ । 

मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतवार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
    
मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पद अनुसारका आकार र रंगका मतपत्रको व्यवस्था गरिने छ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मशिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।
 
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री, ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेशी ९, थारू ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । – अच्युत रेग्मी/रासस

salt training

कमेन्ट गर्नुहोस्