
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले पार्टीलाई विधिसंगत ढंगले सुदृढ बनाएर लैजाने बताएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा विजय भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै बिहीवार उनले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने बताए ।
उनले भने, ‘महाधिवेशनमा मलाई महामन्त्री पदको जिम्मेवारी दिलाउने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन चाहन्छु । यो विश्वास र जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्नेछु ।’
परिवर्तनका संवाहक युवाको भरोसाको पार्टी बनाउन आफू लागिपर्ने उल्लेख गर्दै उनले महामन्त्रीमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधिलाई १ दिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन नदिने विश्वास दिलाए ।
उनले आफूसँग निर्वाचित भएका पदाधिकारीसँग मिलेर पार्टी सभापतिलाई काम गर्न तागत पुर्याउने र पार्टीलाई व्यवस्थित बनाउने उल्लेख गरे । मत धेरै पाउनु भनेको विश्वास पनि धेरै पाउनु हो भन्दै उनले परिपक्व ढंगबाट जिम्मेवारी निर्वाह गर्ने बताए ।
नवनिर्वाचित अर्का महामन्त्री विश्वप्रकाश शर्माले परिवर्तनको यात्रामा २ युवालाई महामन्त्रीमा विजयी गराई रूपान्तरणको आकांक्षालाई महाधिवेशनको मतले प्रकट गरेको बताए । देशले २ युवा महामन्त्रीले हल बाँधिएर काम गरुन् भन्ने अपेक्षा गरेकाले आफू सोहीअनुसार अगाडि बढ्ने उद्घोष गर्दै उनले निर्वाचनको प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गरेर देखाउने बताए ।
निर्वाचनबाट निश्चित व्यक्तिको विजयभन्दा पनि बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनले उल्लेख गरे । आफूलाई फरक–फरक समूहबाट पनि आएका मतको कदर गर्ने विश्वास दिलाउँदै महामन्त्री शर्माले रूपान्तरित कांग्रेस बनाई आगामी निर्वाचनमा विजयी गराउने लक्ष्यका साथ अगाडि बढ्ने धारणा व्यक्त गरे ।
महाधिवेशनअन्तर्गत २ महामन्त्री पदका लागि भएको मतदानको बिहीवार सम्पन्न मतगणनामा महामन्त्री पदमा थापा र शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९८४ मत ल्याएका छन् ।
महामन्त्रीका अन्य उम्मेदवार डा. प्रकाशशरण महतले १ हजार ५५६, प्रदीप पौडेलले १ हजार ३९३, डा. मीनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०६ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतदानमा ४ हजार ६८२ मत खसेकामा सबैभन्दा बढी मत थापाले ल्याएका हुन् भने शर्माले दोस्रो बढी मत प्राप्त गरेका छन् ।