३० जेठ २०८३, शनिबार
आलेख

विज्ञापनमा भर्चुअल देहव्यापार !

पुस २, २०७८
विज्ञापनमा भर्चुअल देहव्यापार !

आजभोलिका विज्ञापनमा महिलाको बढी नै अंग प्रदर्शन गरिएको देख्न पाइन्छ । नग्नताको प्रदर्शन नगरी कुनै वस्तुको बिक्री नै हुँदैन भने जसरी सामाजिक सञ्जाल र आमसञ्चारमा भिडियो र फोटो देख्न पाइन्छ ।

अहिलेको प्रविधियुक्त समाजमा सबै कुरा भर्चुअल माध्यमबाट देख्न पाइन्छ । टेलिभिजन इन्टरनेटमा आधारित टिभी र युट्ब्युब च्यानलहरूमा विज्ञापनको माध्यमबाट देहको भर्चुअल व्यापार गरिन्छ ।

विज्ञापनसँग सम्बन्धित पुरानो उखान छ, 'बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन' । त्यतिबेला पिठोलाई कमसल वस्तु र चामललाई राम्रो खाने कुराको रूपमा लिइन्थ्यो । हुन त सबै खानेकुराहरूको आ–आफ्नै ठाउँमा महत्त्व छ । त्यतिबेलाको अवधारणाअनुसार नराम्रो र कमसल चिजको प्रचार गर्‍यो भने पनि बिक्री हुन्छ, तर असल चिजको प्रचार भएन भने व्यापार बढ्न नसक्ने भनेर विज्ञापनको महत्त्वलाई दर्साइएको हो ।

विज्ञापनले उपभोक्ता र उद्योगीबीचमा पुलको कम गर्छ । उपभोक्तालाई वस्तुको बारेमा विस्तृत जानकारी दिएर उत्पादक कम्पनीको व्यापार बढाउनमा समन्वयकारी भूमिका खेल्ने काम गर्छ । त्यसकारण विज्ञापन जरुरी छ, तर कस्ता विज्ञापन भन्ने प्रश्न पनि सँगसँगै आउँछ ।       

बहुराष्ट्रिय कम्पनीहरूले विज्ञापनका लागि करोडौं/अर्बौं रूपैयाँ/डलर खर्च गरिरहेका छन् । उनीहरूले विज्ञापन कै लागि आफ्नै सञ्चार माध्यम बनाउने र ब्राण्ड एम्बास्डर समेत राख्ने गरेको पाइन्छ ।

त्यस्ता ब्राण्डका वस्तुहरू राम्रा र स्तरीय छन् भनेर उपभोक्तालाई खरिद गर्नका लागि लालायित बनाउने काम पनि विज्ञापनले गरेको हुन्छ । विभिन्न ब्राण्डका उत्पादनहरूको विज्ञापन गर्दा आजभोलि महिलाको अर्धनग्न शरीर देखाएर आकर्षित गर्न खोजेको पाइन्छ । केही उत्पादित वस्तुहरूको विज्ञापनमा महिलाको नग्नता प्रदर्शन गरेर ग्राहकको ध्यान खिच्न खोजिन्छ । 

उत्पादित वस्तुको प्याकेटमा देखिने महिलाका अर्धनग्न तस्वीर या टेलिभिजन युट्बमा आउने भर्चुअल दृश्य दर्शकले खोजीखोजी हेर्लान्, तर उक्त उत्पादन किन्न आकर्षित भाइहाल्छन् भन्ने लाग्दैन ।

धेरैपटक हेर्दा उक्त उत्पादन र कम्पनीको नाम पनि जानकारी होला, तर खरिद गर्नुपर्ने नहुन पनि सक्छ । महिलासँग सरोकार राख्ने उत्पादनहरू सबै नै हुन्छन् । 

महिलासँग सम्बन्धित या असम्बन्धित उत्पादनको विज्ञापनमा पनि महिलाको अर्धनग्न शरीर देखाउँदा बिक्री बढ्छ भन्ने मान्यता राख्नु गलत सोच हो । यसले त महिलाको शरीरको गलत प्रयोग गरेको देखिन्छ ।

विभिन्न आमसञ्चारका माध्यमहरूमा आउने विज्ञापन जुन पुरुषको भित्री पोशाक हुन्छ, त्यसमा पनि महिला र पुरुषका अर्धनग्न शरीर देखाएर अश्लीलता प्रदर्शन गरिएको हुन्छ ।

विज्ञापनले अश्लीलतासँगै मानव सभ्यता, संस्कृति र भाषा समेतलाई नष्ट गरिदिएको अवस्था छ । भाषा, संस्कृति, सभ्यता र मौलिकता बिगार्ने विज्ञापनले केवल वस्तु उत्पादक कम्पनीको अर्थतन्त्रलाई मात्रै सपारेको छ ।

सेभिङ क्रीम, पर्फ्युम, टूथपेस्ट, चुइँगमलगायतका वस्तुहरूको विज्ञापनमा पनि पुरुषसँग अर्धनग्न अवस्थाकी महिला झुम्मिएको वा धेरै युवतीहरू आकर्षित भएको देखाएर समाजलाई गलत सन्देश दिन खोजिएको देखिन्छ । विज्ञापन भनेको वस्तुको बारेमा सही जानकारी दिनु हो । तर वस्तुसँग असम्बन्धित अश्लीलता प्रदर्शन गरिएको पाइन्छ । एउटा पीरो चाउचाउको विज्ञापनको दृश्य त्यस्तै देख्न पाइन्छ । जुन विज्ञापनको दृश्यमा देखाइएको हाउभाउ हेर्दा कण्डमको विज्ञापन हो कि जस्तो लाग्छ । जबकि चाउचाउको प्रयोगकर्ता सबै हुन्छन् ।

विशेष गरी बालबालिकाहरूले खाने गर्दछन् । त्यो बाल मष्तिस्कमा यसले के प्रभाव पार्ला ? नेपाल सरकारले गत वर्षदेखि कार्यान्वयनमा ल्याएको विज्ञापन ऐन, २०७२ मा क्लिन फीडको व्यवस्था गरेको छ ।

अर्थात्, नेपालका केबुलबाट प्रशारण हुने विभिन्न विदेशी च्यानलहरूमा उनीहरूको विज्ञापन प्रशारण गर्न नपाउने अर्थात् विज्ञापनरहित समाग्री प्रशारण गर्नुपर्ने छ । सो कुरा विज्ञापनलाई नियमन गर्ने ऐनको दफा ६ मा उल्लेख छ ।

तर इन्टरनेटको माध्यमबाट युट्युबमा आउने अश्लील सामग्रीलाई कसैले पनि रोक्न सक्ने अवस्था देखिँदैन । अहिलेसम्म कुनै एकदुईवटा च्यानल मात्रै बन्द गराउने प्रविधिको विकास हालसम्म नभएको बुझिएको छ । त्यसो भएपछि बहुराष्ट्रिय कम्पनीका अश्लील विज्ञापन र भिडियोहरू प्रशारणमा कानूनले जतिसुकै प्रतिबन्ध लगाए पनि प्रविधिले बन्द नगराउने अवस्था देखिएको छ । 

विशेषगरी हाम्रो जस्तो समाजमा यो खालको समस्या जटिल बनेको छ । महिलाको शरीरलाई कति हदसम्म व्यापारमा लगाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ । अश्लील सामग्री वा विज्ञापन हेर्ने पूर्वीय संस्कृति बोकेका देशहरू, जहाँ यस्ता सामग्रीलाई आपत्तीजनक मानिन्छ । समाजमा नकारात्मक असर पर्छ । बालमनोविज्ञान र भावीपुस्तालाई असर परेको छ ।

विज्ञापनमा अश्लीलताको प्रदर्शन त बढी भएकै हो, तर अश्लीलतासँगै संस्कृतिमाथि पनि प्रहार गरेको पाइन्छ ।

मन्त्रा भन्ने अनलाइन शपको विज्ञापन, जसमा एकातिर दुर्योधनको पुत्लाले द्रौपदीको सारी तान्दै गरेको देख्न पाइन्छ भने अर्कातर्फ त्यहीँ बसेर श्रीकृष्णको पुत्ला (डमी) ले मन्त्रा अनलाइनमा सारी अर्डर गरेको देख्न पाइन्छ । जुन विज्ञापनका कारण उत्पादित वस्तुको व्यापार बढ्नेभन्दा पनि अति हिन्दूवादीहरूले शपिङ सेन्टरलाई नै चुनौती दिने खालका हर्कत नर्गालान् भन्न सक्ने अवस्था रहँदैन । 

विज्ञापनको कन्सेप्ट फरक र आकर्षक बनाउने बहानामा महिलाको अर्धनग्न शरीरको बढी प्रयोग गर्ने र अश्लीलता प्रदर्शन गर्ने हाउभाउ बढी भएको देखिन्छ ।

विज्ञापनमा युवतीका अर्धनग्न तस्वीर, भिडियो देखेर पुरुष उपभोक्ताहरू लोभिने गरेको देखिन्छ । त्यति मात्रै होईन, पुरुषको शरीरप्रति महिला पात्र लोभिएको दृश्य पनि देख्न पाइन्छ । एउटा बहुराष्ट्रिय कम्पनीको पफ्र्युमको विज्ञापनमा छोरीको ब्याइफ्रेन्डले लगाएको पफ्र्युम सुँघेर मलाई ‘अन्टी नभन्न, मेरै नामले बोलाऊ’ भन्ने जस्ता सम्बन्ध नै असहज हुने जस्ता संवाद र दृष्यले सभ्यता र संस्कृति नास गर्ने अनि भ्रष्ट बनाउने देखिन्छ ।

यसैगरी कतिपय सौन्दर्य प्रसाधनका सामग्री, पहिरन वा गहनाका विज्ञापनले मध्यम वर्गीय परिवारका व्यक्तिहरूमा खरिद गर्न नसक्ने भएपनि पहिरनमा आधुनिकता झल्काउने होड चल्ने र पैसा नभए पनि किनुँ-किनुँ लाग्ने बनाउँछ । यी कुरा घर झगडा समेत निम्त्याउन सक्छ । अझ भन्नु पर्दा विज्ञापनले उपभोक्ताको विचारमाथि पनि कब्जा जमाउने काम गर्छ ।

विज्ञापनका कारण, कसैको खल्तीको पैसा रिमोट कन्ट्रोलको सहाराले आफ्नो एकाउन्टमा जम्मा गर्न सफल हुन्छन्, वस्तु उत्पादक कम्पनीहरू । जस्तो डिजाइन, जस्तो गुणस्तर भएपनि किनाउनु मात्रै उद्देश्य हुन्छ । विज्ञापनले अश्लीलतासँगै मानव सभ्यता, संस्कृति र भाषा समेतलाई नष्ट गरिदिएको अवस्था छ । भाषा संस्कृति र सभ्यता मौलिकता बिगार्ने विज्ञापनले केवल वस्तु उत्पादक कम्पनीको अर्थतन्त्रलाई मात्रै सपारेको छ ।

विज्ञापनमा अश्लीलताको प्रदर्शन र महिला शरीरको दुरूपयोग भयो भनेर सर्वोच्च अदालतले बीयर र रक्सी उत्पादनको विज्ञापनमा महिलाको प्रयोगमा रोक लगाउने आदेश समेत गरेको छ, तर विज्ञापनको कन्सेप्ट बनाउनेहरूको दिमागमा अश्लीलताभन्दा बाहेक अरू केही पनि सिर्जना नहुने हो ?

यसरी विज्ञापनमा महिलाको अर्धनग्न शरीरको प्रयोगले वस्तु उत्पादक कम्पनीको व्यापार बढाएको भन्ने भान मात्रै हो । विज्ञापनमा नयाँनयाँ सिर्जना आउनु जरुरी छ ।

salt training

कमेन्ट गर्नुहोस्