३० जेठ २०८३, शनिबार

मेयर कप तेक्वान्दो प्रतियोगितामा काठमाडौं महानगर टीम च्याम्पियन

मेयर कप तेक्वान्दो प्रतियोगितामा काठमाडौं महानगर टीम च्याम्पियन

काठमाडौं महानगरपालिकाले दोस्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमवार जितेको छ ।

६ स्वर्ण, ५ रजत र १ काँस्य जित्दै आयोजकको २ सहित २० टीम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टीम च्याम्पियन बन्यो ।

जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ काँस्य जितेको पनौती नगरपालिका दोस्रो भयो । तेस्रो स्थानको गोदावरी नगरपालिकाले ३ स्वर्ण र ३ काँस्य हात पार्‍यो ।

प्रतियोगिताको ग्योरोगीतर्फ पुरुषमा आयोजक ‘ए’का राहुल लिम्बू तथा महिलामा कागेश्वरी मनोहरा नगरपालिकाकी अनुज्ञा सापकोटा उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत पुम्सेको पुरुषमा श्रृजल श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । पुम्सेमै पेयर विधामा स्वर्ण जितेका नागर्जुन नगरपालिकाका आशिष श्रेष्ठ र मोनिका मगर संयुक्त रूपमा उत्कृष्ट खेलाडी घोषित भए ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतियोगितामा काठमाडौंका गौरव रजक उत्कृष्ट प्रशिक्षक बने । निर्णायकको पुरुषमा कागेश्वरीका भीम तुम्बापो र महिलामा काठमाडौंकी बन्दना राई उत्कृष्ट ठहरिए ।

पेयरमा उत्कृष्ट भएकाबाहेक सबै उत्कृष्टले समान १–१ सय अमेरिकी डलर नगद पुरस्कार पाए । पेयरका उत्कृष्टलाई जनही ५०–५० अमेरिकी डलर प्रदान गरियो ।

विजेतालाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, आयोजक क्लबका अध्यक्ष राजेश प्रजापति लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । उत्कृष्टको सबै पुरस्कार सुधोधनमान रन्जित र रिता श्रेष्ठ रन्जितले प्रायोजन गरेका हुन् ।

२० वटै स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई क्रमशः २ हजार, १ हजार ५०० र १ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कारका लागि नवीन शाक्य र प्रनिता श्रेष्ठ शाक्यले सहयोग गरेका हुन् ।

२ दिने प्रतियोगितामा ४०० खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक क्लबका सदस्य एवं प्रचारप्रसार समितिका संयोजक राजेन्द्र मानन्धरले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्