
प्रतिनिधि सभाको दशौं अधिवेशनको दोस्रो बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।
मंसिर २८ गते शुरू भएको अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अवरुद्ध गरेको थियो ।
मंगलवारका लागि तोकिएको दोस्रो बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दै छ । त्यसअघि संसद भवनमै कार्यव्यवस्थाको बैठक बस्न लागेको हो ।
अवरुद्ध संसद बैठक सुचारु गर्ने विषयमा छलफल गर्न कार्यव्यवस्था बस्न लागेको हो । कार्यव्यवस्था बैठकमा बहुचर्चित अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)लाई प्रतिनिधि सभाको कार्यसूची बनाउन सरकारले प्रस्ताव ल्याउने तयारी गरेको स्रोतले बतायो ।
सरकारले संसद सचिवालयमा लामो समय अड्केर बसेको एमसीसीलाई अगाडि बढाउने तयारी गरेको छ । मंगलवार मात्र गृहमन्त्री वालकृष्ण खाणले जनकपुर पुगेर एमसीसी अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन् ।
एमसीसीबारे अध्ययन गर्न सत्ता गठबन्धनले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वका कार्यदल बनाएको छ ।
एमसीसीको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत साना दलले मंगलवार नै काठमाडौंमा विरोध कार्यक्रम राखेका छन् ।