
नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले एमालेले संसदमा गरिरहेको अवरोधलाई ‘मूर्खतापूर्ण बल प्रयोग’ को संज्ञा दिएका छन् ।
संसदलाई बन्धक बनाएर राष्ट्रलाई अराजकतातर्फ लैजान खोजेको उनले आरोप लगाए ।
‘यो एउटा अराजकतावादी कुरा हो । जोसँग तर्कहरू सिद्धिन्छन्, शक्ति सिद्धिन्छ । बौद्धिकता सिद्धिन्छ । मर्यादा सिद्धिन्छ । सवैधानिकता सिद्धिन्छ । त्यस्ता मानिसहरू बल प्रयोगमा लाग्छन् । मूर्खतापूर्ण बल प्रयोग,’ उनले भने, ‘संसद जनताको आवाज उठाउने, राष्ट्रका आवाज उठाउने, जनताका विभिन्न समस्याहरू उठाउने थलो हो । राष्ट्रका नीति, कार्यक्रम, बजेट, ऐन, कानूनहरु, संकल्पहरू निर्माण गर्ने थलो हो यो ।’
उनले एमालेको प्रवृत्ति राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति भएको बताएका छन् । ‘यो थलोलाई नै बन्द गरेपछि, बन्धक बनाएर राखेपछि राष्ट्र कसरी चल्छ ? यो राष्ट्रलाई नै चल्न नदिने, राष्ट्रलाई अराजकताको खाडलतर्फ लाने धुन्धुकारी प्रवृत्ति हो । धुन्धुकारी प्रवृत्तिबाट प्रतिपक्षी पार्टीको नेतृत्व ग्रस्त छ,’ उनले भने ।