
शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधिसभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो ।
समितिले शिक्षा सम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । यसअघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन सरकारलाई निर्देशन दिए ।
सभापति घर्तीले सरकारले प्रतिबद्धता गरेअनुसार शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिए । उनले भने, ‘बाल शिक्षकलाई तलब वृद्धि गर्ने विषयमा सरकारले कार्यान्वयन नभएको भन्ने विषय आएकाले बाल शिक्षकलाई तलब वृद्धि गर्न जरुरी छ । अन्य शिक्षकको तलब बढ्ने तर बाल शिक्षकले चाहिँ ६ हजारमा काम गर्ने अवस्था हुँदैन । उनीहरूको तलब एकदमै न्युन रहेको छ । त्यस्तै शिक्षक दरबन्दीको विषयमा काम गरिएको भन्ने विषय आएको छ । शिक्षक दरबन्दीको विषय पनि कार्यान्वयन गर्ने जरुरी छ । त्यसैले समितिले सरकारलाई यस अगाडि प्रतिवद्धता अनुसार तत्काल शिक्षा विधेयक तथा ऐन ल्याउन निर्देशन दिन्छौं । त्यस्तै, समितिमा दोस्रोपटक मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै विवाद बढेको छ । यो विषयमा पहिले पनि छलफल भएर सरकारलाई विवाद समाधान गर्न निर्देशन दिएको थियो । अहिले पनि के समस्या हो सत्यतथ्य बुझेर समस्याको हल गर्न निर्देशन दिन्छु । त्यस्तै, एसईई विषयमा धेरै पटक छलफल भएको छ । अहिले त झन् कोरोनाको समय छ गर्नै हुँदैन । सरकारले यस अगाडि नै कक्षा १२ सम्मलाई विद्यालय शिक्षा लेबल घोषणा गरेको छ । यसले गर्दा यस अगाडि पनि एसईई गर्नु हुँदैन भनेर निर्देशन समितिले निर्देशन दिएको थियो । तर कार्यान्वयन नभएकाले त्यो निर्देशन कार्यान्वयन गर्न निर्देशन दिएका छौं ।’
बैठकले यसअघि नै समितिले एसईई परीक्षा नगर्नू भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।