
ओखलढुंगामा ४ हजार ३५९ जना मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गतेदेखि शुरू गरेको मतदाता नामावली संकलन अभियानमा ४ हजार ३५९ जना नयाँ मतदाताले नामावली दर्ता गराएका हुन् ।
जिल्लाका ८ मध्ये निर्वाचन कार्यालय रहेको सदरमुकामको सिद्धिचरण नगरपालिकाबाहेक ७ वटा स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन अभियान चलाइएको थियो । मंसिर १७ गतेदेखि २६ गतेसम्म सञ्चालित पहिलो चरणको अभियानमा मानेभञ्ज्याङमा ५१४ जना, चिशंखुगढीमा २७४, सुनकोशीमा ५८५ जना र खिजीदेम्बा गाउँपालिकामा ८२० जनाको नामावली संकलन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले बताए ।
उनका अनुसार मंसिर २८ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित दोस्रो चरणको अभियानमा मोलुङ गाउँपालिकाका ४९२ जना, चम्पादेवी गाउँपालिकाका ३८६ जना र लिखु गाउँपालिकाका ३२७ जनाको नयाँ नामावली संकलन छ ।
सो अवधिमा जिल्ला प्रशासन कार्यालयबाट ८९५ जना, जिल्ला निर्वाचन कार्यालयबाट ४७ जनाको नामावली संकलन गरिएको छ । यसअघि अद्यावधिक मतदाता नामावलीअनुसार ओखलढुंगामा १ लाख ७ हजार ६४२ जना मतदाता थिए । ४ हजार ३५९ जना थपिँदा जिल्लामा कूल मतदाताको संख्या १ लाख १२ हजार १ जना पुगेको छ ।
निर्वाचनको मिति नतोकिएसम्म मतदाता नामावलीमा नाम छुटेकाले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खिजीदेम्बा र जिल्ला निर्वाचन कार्यालयबाट नाम दर्ता गराउन सकिने जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाले जनाएको छ ।
निर्वाचन आयोगका अनुसार जिल्लाबाहिर रहेका जिल्लावासी नागरिकले आफू बसोबास गरेको सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने छ ।