२९ असार २०८३, सोमबार

कांग्रेस सभापतिको प्रमाणपत्र लिएपछि देउवाले भने- सबैको सभापति हुने प्रयास गर्छु

कांग्रेस सभापतिको प्रमाणपत्र लिएपछि देउवाले भने- सबैको सभापति हुने प्रयास गर्छु
फाइल तस्वीर।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आगामी दिनमा पार्टीको सबै सदस्यको साझा सभापति हुने गरी काम गर्ने बताएका छन् । 

कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरणका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आगामी दिनमा पार्टीमा सबैको सभापति हुने प्रयास गर्ने बताएका हुन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘निर्वाचनमा मलाई कसले भोट हाल्यो हालेन भन्ने कुराको अब अर्थ रहँदैन । म पार्टीको सभापति हुँ, सबैको सभापति हुने प्रयास गर्छु ।’ आफूलाई सबैको सभापति बन्ने चुनौती पनि रहेको उनले बताए । 

नेपाली कांग्रेसलाई आगामी दिनमा निर्वाचन जितेर देशको ठूलो पार्टी बन्ने चुनौती रहेको उनको भनाइ छ । 

‘भोलिको दिनमा ठूलो चुनौती छ । स्थानीयदेखि संसदीय चुनावसम्मको चुनाव जितेर ठूलो पार्टी बन्नुपर्ने छ,’ देउवाले भने । 

कांग्रेसमा सबै क्षेत्रको प्रतिनिधित्व भएको भन्दै संविधानले अंगीकार गरेको समानुपातिक समावेशीको सिद्धान्तलाई पार्टीले आत्मसात् गरेको उनले बताए ।  

‘निर्वाचित र मनोनीत गरेर पार्टीमा ३३ प्रतिशत महिलाको संख्या पुर्‍याएका छौं । कांग्रेस सबै क्षेत्रको प्रतिनिधित्व भएको पार्टी हो । यस्तो प्रतिनिधित्व अरू पार्टीहरूमा छैन,’ देउवाले भने । 

salt training

कमेन्ट गर्नुहोस्