
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा पेश भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
पुस ११ गते उद्घाटन भएको माओवादी केन्द्रको महाधिवेशनको दोस्रो दिन प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।
उक्त प्रतिवेदनमाथि प्रतिनिधिहरू समूहगत रूपमा छलफल गरेर निष्कर्ष प्रस्तुत गरेपछि प्रचण्डले प्रतिनिधिले उठाएको प्रश्नमा जवाफ दिएका थिए ।
त्यसक्रममा प्रचण्डले प्रतिनिधिबाट आएका सबै सुझावलाई सकेसम्म प्रतिवेदनमा समेट्ने बताएको माओवादी केन्द्रको प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बताए ।
सबै प्रतिनिधिले प्रचण्डको प्रतिवेदनको मूल स्पिरिट ठिक रहेको भन्दै समर्थन गरेको महराले जानकारी दिए । त्यसबाहेक, केही विषयमा परिमार्जन र थप गर्न भनेर आएको सुझाव प्रतिवेदनमा समेटिने उनले बताए ।
त्यसबाहेक, नेता राम कार्कीले राखेको पूरक प्रस्ताव र लेखनाथ न्यौपानेले राखेको फरक मतलाई प्रतिवेदनमा नसमेटेर ती प्रस्तावको सम्मानको लागि पूरक प्रस्ताव र फरक मतकै रूपमा अनूसूचीमा उल्लेख गर्ने निर्णय भएको पनि महराले बताए ।
शनिवारको बन्दसत्रमा माओवादी केन्द्रको विधान पारित गर्ने कार्यक्रम रहेको महराले बताए ।
बन्दसत्रको पहिलो दिन माओवादी केन्द्रको स्थायी कमिटी सदस्य देव गुरूङले पार्टीको विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
त्यसमा प्रतिनिधिहरूले छलफल गरिसकेको र शनिवारको बन्दसत्रबाट त्यसलाई पारित गरिने महराले बताए ।
विधानको सम्बन्धमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक केहीबेरमा बस्न लागेको पनि उनले जानकारी दिए ।