
राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, प्रदेश २ मा महिला समूहतर्फ तीन जना तथा अन्यतर्फ दुई जनाको गरी पाँच जनाको उम्मेदवारी परेको छ । प्रदेश २ मा दुवै समूहबाट गरी दुई जना निर्वाचित हुनेछन् ।
यसैगरी, बाग्मती प्रदेशमा महिलातर्फ तीन र अन्यतर्फ समेत ३ गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । बाग्मतीमा दुई पद रिक्त हुँदै छ ।
यसैगरी, गण्डकी प्रदेशमा महिला समूहतर्फ दुई जना, दलिततर्फ दुई जना र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी दर्ता भएको छ । यी सबै समूहबाट एक÷एक जना गरी तीन जना यो समूहबाट निर्वाचित हुनेछन् ।
लुम्बिनीमा पनि महिलातर्फ दुई, दलिततर्फ दुई र अन्यतर्फ दुई जना गरी जम्मा ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यसैगरी, कर्णाली प्रदेशमा महिलातर्फ दुई जना, अपांगता भएका वा अल्पसंख्यकतर्फ दुई जना र महिलातर्फसमेत दुई जनाकै उम्मेदवारी परेको छ । यी तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा महिलातर्फ दुई, दलिततर्फ दुई र अन्य समूहतर्फ दुई जना गरी ६ जनाको उम्मेदवारी परेको छ । सो प्रदेशमा तीनै समूहबाट एक÷एक जना गरी तीन जना निर्वाचित हुनेछन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।