२४ जेठ २०८३, आइतबार

छोराको विवाहबाट विमल केडियाले थालेको नयाँ प्रयोग– उत्सवमा सार्थकताको खोजी

छोराको विवाहबाट विमल केडियाले थालेको नयाँ प्रयोग– उत्सवमा सार्थकताको खोजी

प्रतिष्ठित उद्यमी एवं संविधान सभाका पूर्व सदस्य विमल केडियाले मंगलवार साँझ पत्रकार सम्मेलन आयोजना गरे ।

काठमाडौंको लाजिम्पाटस्थित होटल एम्बास्डरमा आयोजित पत्रकार सम्मेलनमा अनौठो दृश्य देखियो ।

पत्रकार सम्मेलन हलको एक कुनामा ‘सार्थक विवाह उत्सव, एक नयाँ पहल’ लेखिएको ब्यानर राखिएको थियो । 

अर्को कुनामा केही लेखिएको थियो । जसमा पत्रकार सम्मेलन आयोजना गर्नुको उद्देश्यबारे जानकारी थियो, तर अनौपचारिक जस्तै ।

बीचको भित्तामा राखिएको नोटिस बोर्डमा केडियाले छोराको विवाह समारोहको केही झलकहरू तस्वीरमा राखेका थिए ।

त्यहाँ उपस्थित पत्रकारहरूमध्ये केहीले त्यो हेरेर केडियाले के भन्न लागे भनेर चासो देखाइरहेका थिए ।

केही समय ढिला गरी शुरू गरिएको कार्यक्रममा केडियाले भने, ‘पत्रकार साथीहरू, यो एक किसिमको अन्तक्र्रिया जस्तै हो भन्ने मलाई लागेको छ ।’

विषयवस्तुमा प्रवेश गर्नुअघि उनले आफ्नो केही अनुभव र मान्यताहरू सुनाए ।

‘मैले समाजप्रति, देशप्रति र प्रकृतिप्रति जिम्मेवार हुनुपर्दछ भन्ने मान्यता शुरूदेखि नै राख्दै आएको छु । विभिन्न समयमा विभिन्न उतारचढावका बावजुद आज यो कार्यक्रम गर्ने रमाइलो मौका प्राप्त गरें ।’ 

उनले कार्यक्रमलाई विषयवस्तुमा प्रवेश गराउँदै सुनाए, ‘यसो हेर्दा यो के हो जस्तो लाग्छ, तर लेखाइ र देखाइभन्दा पनि माथि छ यो फिलिङ्स, मैले हजुरहरूलाई फिलिङ्स शेयर गर्न खोजेको हुँ ।’

‘...यहाँ हामी भेट्दा एउटा कन्फ्युजन देखियो, यो कन्फ्युजन मेरा साथाीभाइ र घरपरिवारमा पनि देखिएको थियो,’ कार्यक्रममा विषय प्रवेश गराउँदै केडियाले भने । 

आवश्यक परिवर्तनलाई आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए ।

गत मंसिर २५ गते केडियाले आफ्नो छोरा आश्विनको विवाह सम्पन्न गरे ।

आश्विनको विवाह भारत घर भएकी श्रीया मित्तलसँग गरिएको थियो । 

सो विवाह उत्सवलाई सोचेजस्तै सार्थक बनाएपछि केडियाले आफ्नो अनुभव साट्दै थिए । 

उनको यस अभियान जस्तै अरुले पनि उत्सवमा केही न केही समाज वा मुुलुकको लागि योगदान पुग्ने सार्थक काम गर्नुपर्नेमा जोड दिनका लागि उनले पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

उत्सवमा सार्थकताको खोजी 

केही समयअघि छोराको विवाहको मिति तय भएपछि उनले केही नयाँ गर्नका लागि निकै सोचेको सुनाए । 

पत्रकार सम्मेलनमा उनले भने,‘उत्सवलाई मैले नकारात्मक रूपमा लिएको होइन । तर त्यसलाई सार्थक कसरी बनाउने भन्ने कुरा मैले लिएँ । विवाह हुन बाँकी नै थियो । विवाह उत्सवलाई कसरी सार्थक बनाउने भन्ने मैले सोच्न थालेँ । कस्तो कार्याक्रम गर्ने भन्ने एउटा पक्ष थियो भने अर्को पक्ष यो विषय एउटा कल्चरको रूपमा मात्रै मनाउने भन्ने हो र ? अब नयाँ केही गरौँ भन्ने पनि लाग्यो ।’

उत्सवमा हामी गाडी, मोटरसाइकल या केहीमा जान्छौँ । रमाइलो गर्छौँ । स्रोतसाधन खर्च भएको छ, समय लागेको छ, त्यसको कुनै भ्याल्यू छैन ? शुभकामना दियौँ यो राम्रो कुरा हो ।

उनी भन्छन्, ‘मैले कहाँसम्म अनुभव गरेको छु भने केही पुराना साथी ४/५ जना एउटा कुनातिर गइन्छ, पुराना कुरा गरिन्छ, एकछिन खुसी हुन्छौँ । तर मलाई त्यतिले पुगेन । मलाई त्यसमा पनि केही सार्थकता होस् भन्ने लाग्यो ।’

उनले छोराको विवाहको अवसरमा दुईवटा कुरामार्फत उत्सवलाई सार्थकता बनाउने सोच बनाए ।

पहिलो सोच –छोराको विवाहमा विभिन्न धर्ममा आस्था राख्ने धर्म गुरुहरूलाई बोलाएर सामूहिक रूपमा आशिर्वचन दिलाउने र अर्को सोच– विवाह उत्सवमा राजधानी वरिपरिको कुनै ठाउँमा वृक्षरोपण गरेर त्यसलाई अध्ययन सेन्टर बनाउने ।

उनको यो सोचलाई उनको परिवारले पनि साथ दिए । 

त्यसपछि विवाह उत्सव आयोजना गरियो । 

केडियाले हिन्दु, शिख, जैन, बुद्ध, क्रिस्चियन र इस्लाम धर्मगुरुलाई विवाह उत्सवमा बोलाएर एउटै मञ्चबाट छोरालाई आशिर्वाद दिलाए । 

मुलुकका विभिन्न भागमा बस्दै आएका सबै धर्मावलम्वीहरू सँगै मिलेर बसेको सन्देश दिनका लागि यो सोच बनाएर काम गरेको केडियाले सुनाए ।

के थियो एक नयाँ पहल ?

केडियाले निकै सोचेर उत्सवका मनाउँदा नयाँ पहल गरेको सुनाए । 

काठमाडौंको तारकेश्वर नगरपालिका अन्तर्गत महाकालीमाई मन्दिर परिसरमा वृक्षरोपण गरिएको केडियाले बताए । 

वृक्षरोपणका साथै बिरुवा हुर्किएपछि अध्ययन पार्क स्थापना परियोजनाको परिकल्पना समेत गरेको उनको भनाइ छ । 

‘वृक्षरोपण त धेरैले गरेका छन्, तर त्यो प्रभावकारी भएको छैन, त्यसैले यसलाई एउटा परियोजनाकै रूपमा लैजाने सोचका साथ काम गरियो,’ केडियाले भने ।

यो विवाह उत्सवकै क्रममा त्यहाँ उपस्थित पाहुनाकै नाममा वृक्षरोपण गरेको उनले सुनाए । 

‘हरेक उत्सवमाा केही न केही प्रभावकारी सामाजिक कामको प्रतिवद्धता गर्ने र त्यसलाई अगाडि बढाउने हो भने उत्सव सार्थकता हुन्छ भन्ने लागेको छ,’ उनले भने ।

मन्दिर परिसरमा गरिने वृक्षारोपणमा पहिलो चरणमा ५ हजार बिरुवा रोप्ने र त्यसमा ५० लाख खर्च हुने उनको अनुमान छ ।

वृक्षारोपण र बोटानिकल अध्ययन केन्द्रको परिकल्पना अगाडि बढ्दै जाँदा अहिले धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेको उनले सुनाए ।

परिसरमा लोपन्मुख जातका बिरुवाहरू समेत रोप्ने सोचमा रहेको उनी बताउँछन् । 

विवाह समारोहमा मुलुकका प्रधानमन्त्रीदेखि व्यापारी, उद्योगी र विभिन्न क्षेत्रका ख्याती कमाएका व्यक्तिहरू समेत सरिक भएका थिए । 

उनीहरूले समेत केडियाले थालनी गरेको अभियानलाई कतै न कतै लागू गराउने विश्वास दिलाएको उनले सुनाए । 

वृक्षारोपणपछि आफूले सोचेको जस्तै विवाह उत्साव सार्थक भएको केडिया बताउँछन् । 

यस्ता कामलाई सबैले निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्