३१ असार २०८३, बुधबार

गलवानमा आक्रामकता देखाउनुमा के हो चीनको रणनीति ?

पुस २१, २०७८
गलवानमा आक्रामकता देखाउनुमा के हो चीनको रणनीति ?

भारत र चीनका सैनिकहरूबीच सन् २०२० को मे महिनादेखि शुरू भएको तनाव अहिलेसम्म कायम छ । 

हालैका दिनमा पांगोङ तालमा चीनले पुल बनाएको र गलवान उपत्यकामा आफ्नो झण्डा फहराएको खबर आइरहँदा भारत सीमामा उसले पुनः शक्तिप्रदर्शन गरेको पाइएको छ । 

यस विषयमा कूटनीतिक र राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ । चीनले जानीजानी यस्तो उत्तेजक काम गरिरहेको त हैन भनेर प्रश्न उठाइएको छ । 

भारतभित्रै यस विषयमा बहस भइरहेको छ । कांग्रेस र अन्य विपक्षी दलहरूले मोदी सरकारलाई यस विषयमा निरन्तर आलोचना गरिरहेका छन् । तर सरकारका तर्फबाट संयमित प्रतिक्रिया आइरहेको छ । 

सामरिक र परराष्ट्र मामिलाका जानकारहरूले चीनमा सत्तारूढ दल कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण नेसनल पिपुल्स कंग्रेस आउन लागेको बेलामा चीनको तर्फबाट यस्ता किसिमका उत्तेजक घटना थप हुने बताएका छन् । 

सन् २०२२ मै नेसनल पिपुल्स कंग्रेस हुँदैछ । यसमा राष्ट्रपति सी चिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि तयार भएर बसेका छन् ।

गत नोभेम्बर महिनामा नै चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्ष पूरा भएको अवसरमा राष्ट्रपतिमाथि लगाइएको दुई कार्यकालको सीमालाई समाप्त गरेको थियो । 

यसले गर्दा सीलाई तेस्रो कार्यकाल चलाउन बाटो खुलेको छ । 

तर सीलाई देशभित्रै अनि अन्तर्राष्ट्रिय सहयोगी मुलुकहरूका बीच आफ्नो प्रभाव कायम राख्न तथा त्यसलाई थप मजबूत बनाउन चुनौती छ । 

चीनले देशभित्रका सूचनालाई बाहिर पुग्न अनेकौं रोक लगाउने गरेको छ । तर त्यति हुँदाहुँदै पनि आइरहेका खबरले देशको परिस्थिति राम्रो नरहेको संकेत गर्छन् । 

कोरोनाको पहिलो लहरमा चीनले नागरिकहरूमाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । अहिले तेस्रो लहर आउँदा दुईवटा ठूला शहरको विशाल जनसंख्यालाई कडा लकडाउनमा राखिँदा मानिसहरूले नरुचाएको बताइएको छ । 

त्यसबाट ध्यान हटाउनका लागि चीन सरकारले भारतसँगको सीमाविवादलाई चर्काइरहेको बताइन्छ । 

चीनले आक्रामकता देखाइरहँदा भारत सरकारले किन कडा प्रतिक्रिया दिन नसकेको होला ? 

यस विषयमा अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक हर्ष पन्तले भारतको दृष्टिकोण सामरिक रूपमा सही रहेको बताए । 

चीनले सीमापारि आफ्नो भूमिमा पुल र हेलीप्याड बनाइरहँदा भारतले केही पनि गर्न नसक्ने उनको भनाइ छ । 

उनले बताए, ‘अहिलेसम्म भारतले आफ्नो सैन्य क्षमताको हिसाबमा कारवाही गरिरहेको छ । चीनसँग सीमामा धेरै विवाद नचर्कियोस् भन्ने दृष्टिकोणअनुसार यो सही कदम हो । भारतले चीनसँगको तनाव घटाउनका लागि पनि काम गरिरहेको छ ।’

सामरिक मामिलाविद्हरू अमेरिकाको उदाहरण दिँदै अमेरिकाले ताइवानलाई सैन्य प्रशिक्षण पनि दिइरहेको तर चीनविरुद्ध कुनै ठाडो कारवाही नगरेको बताउँछन् । 

उनीहरूका अनुसार, कूटनीति निकै जटिल कुरा हो । यसलाई बुझ्न सहज छैन र कुनै परिणाममा पुग्न पनि गाह्रो छ । 

भारतले आफ्नो दृष्टिकोण कायम राख्नुपर्ने र सी चिनपिङलाई नेसनल पिपुल्स कंग्रेस अघि फाइदा उठाउने कुनै मौका दिन नहुने सामरिक मामिलाविद्हरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्