३१ असार २०८३, बुधबार

मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

पुस २४, २०७८
मध्यपहाडीमा सवारी सञ्चालन गर्न प्रहरीको अनुमति चाहिने

रुकुमपूर्वमा मौसममा सुधार नआएसम्मका लागि भनेर मध्यपहाडी लोकमार्ग सञ्चालनमा रोक लगाइएको छ । रुकुमपूर्व र बागलुङको सिमाना पातीहाल्ना क्षेत्रमा हिमपातका कारण दुर्घटनाको जोखिम बढेकाले मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । राजमार्गको अवरोध हटाउन सञ्चालन समितिको बैठक बसेर यस्तो निर्णय गरिएको समितिको संयोजकसमेत रहेका प्रजिअ बाँस्कोटाले बताए ।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख र यातायात व्यवसायीको उपस्थितिमा गरिएको छलफल र यातायात व्यवसायीबाट आएको सुझावका आधारमा मध्यपहाडी लोकमार्गको पातीहाल्ना खण्डमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो । मध्यपहाडी लोेकमार्गमा जमेको साढे दुई फिट हिउँ पाँच दिन लगाएर डोजरले पन्छाएको तर त्यसमा सवारी सञ्चालन गर्न धेरै नै जोखिम रहेकाले लोकमार्ग बन्द गर्ने निर्णय गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनका अनुसार यस खण्डमा सार्वजनिक सवारीलाई पूर्णरूपमा रोक लगाइएको छ । निजी फोरबिल वाला गाडी भने जान सक्नेछन् ।

अत्यावश्यक परेको खण्डमा मात्र सार्वजनिक गाडी प्रहरीको अनुमतिमा यस खण्डमा चलाउन सकिने छ । गाडीको अवस्था कस्तो छ र लोड कत्तिको छ भनेर हेरेपछि प्रहरीले उपयुक्त ठानेर पठाएको खण्डमा मात्र सार्वजनिक गाडी पातीहाल्नाको बाटो भएर जाने छन् ।

एक–दुई दिनलाई भने पूर्णरूपले लोकमार्ग ठप्प रहेको प्रजिअ बाँस्कोटाले बताए । रुकुमपूर्वबाट बागलुङतर्फ जाने बाटो हिउँले चिप्लो बनाएको र उकालो पर्ने भएकाले दुर्घटना हुनसक्ने जोखिम धेरै रहेको उनको भनाइ छ ।

बागलुङतर्फबाट भने एकतर्फीरूपमा रुकुमपूर्वतर्फ केही सवारी जोखिम मोलेर आइरहेका छन् । बागलुङ जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सकभर उतापट्टिबाट पनि यस खण्डमा सवारी सञ्चालनमा रोक लगाउने प्रयास गरिरहेको प्रशासनले जनाएको छ । मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यस खण्ड हुँदै रुकुमपूर्वसँगै काठमाडौँ, पोखरा, रोल्पा, ओहोरदोहोर गर्ने मानिस समस्यामा परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्