२६ जेठ २०८३, मंगलबार
पूर्वसभामुखको सरकारी गाडी मोह

पूर्वसभामुखलाई १५ वर्षपछि सरकारी गाडी चढ्ने रहर लागेपछि...

मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कानूनमा नभएको सुविधा लिँदै ५ पूर्व सभामुख
पुस २७, २०७८
पूर्वसभामुखलाई १५ वर्षपछि सरकारी गाडी चढ्ने रहर लागेपछि...

सभामुखको हैसियतको सेवासुविधा छाडेको १५ वर्षपछि नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले पूर्वसभामुखको हैसियतमा सरकारी गाडी र इन्धन लिन शुरू गरेका छन् । 

२०६३ सालको जनआन्दोलनले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि उनले सभामुखको हैसियतमा पाउँदै गरेको सुविधा छाडेका थिए ।

सरकारी सुविधा छाडेको १५ वर्षपछि रानाभाटले संसद सचिवालयबाट पूर्व सभामुखको हैसियतमा गाडी, इन्धन र चालक सुविधा लिएका छन् । 

आफ्नै पार्टीको सरकार भएको बेला मन्त्रिपरिषद्बाट निर्णय गराएर रानाभाटले सुविधा लिएका छन् । गाडी र चालकका अतिरिक्त रानाभाटले मासिक १०० लिटर इन्धन सुविधा पाएका छन् । 

२०७८ कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले रानाभाटलाई सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको हो । 

सवारी सुविधा माग गर्दै रानाभाटले संसद सचिवालयमा निवेदन दिएका थिए । संसद सचिवालयले मन्त्रिपरिषद्लाई पत्र लेखेर रानाभाटका लागि गाडी उपलब्ध गराउने निर्णय गरेको हो । 

‘संघीय संसदको च.नं. ५४६ मिति २०७८/१/१४ को पत्रबाट अनुरोध भई आएबमोजिम पूर्व सभामुख श्री तारानाथ रानाभाटका लागि एक सवारी साधन, हलुका सवारी चालक र प्रचलित मापदण्डबमोजिमको इन्धन बराबरको रकम मासिक रुपमा संघीय संसद सचिवालयले उपलब्ध गराउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि रानाभाटले संसद सचिवालयबाट बा १ झ ६०२३ नम्बरको इसुजु गाडी लिएर गएका छन् । गाडीसँगै चालक र पीए पनि लिएका छन् । 

मंसिर १ गते गाडी लिएका रानाभाटले मंसिर महिनाको लागि इन्धन र चालकको भाडासमेत लिएका छन् । हलुका सवारी चालकले मासिक २४ हजार तलब र दुई हजार महँगी भत्ता पाउँछन् । 

पूर्व सभामुखलाई गाडी सुविधा दिनेबारे कुनै ऐन र कानूनमा व्यवस्था नभए पनि मन्त्रिपरिषद्बाट पटके निर्णय गराएर पूर्वसभामुखहरूले सुविधा लिएको पाइएको छ । यस्तो सुविधा लिँदा ‘नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४’ लाई आधार बनाइएको छ । 

पाँच पूर्वसभामुखले गाडी लिए, दमननाथ मात्र अपवाद

२०४८ सालपछि सभामुख बनेकामध्ये दमननाथ ढुंगानाबाहेक सबै पूर्वसभामुखले संसद सचिवालयबाट गाडी सुविधा लिएका छन् । 

ढुंगाना २०४८ देखि २०५१ सालसम्म सभामुख थिए । लामो समय सक्रिय राजनीतिबाट अलग भएका ढुंगाना २०७४ सालमा भक्तपुर–२ बाट चुनाव लडेका थिए । एमालेका महेश बस्नेतसँग पराजित भएपछि उनी सक्रिय राजनीतिमा छैनन् । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आयोजना गरेको धर्नामा उनी सहभागी भएका थिए । 

२०५१ सालदेखि २०५६ सालसम्म सभामुख रहेका रामचन्द्र पौडेल, २०६३ सालपछि सभामुख तथा २०६५ देखि २०७२ को कालखण्डमा संविधानसभाको अध्यक्ष बनेका सुवास नेम्वाङले पनि गाडी सुविधा लिएका छन् । 

२०७२ देखि २०७४ सालसम्म सभामुख बनेकी ओनसरी घर्ती र २०७४ देखि २०७६ असोजसम्म सभामुख बनेका कृष्णबहादुर महराले पनि पूर्वसभामुखको हैसियतमा गाडी सुविधा लिएका छन् । 

सभामुखबाट राजीनामा गरेलगत्तै महराले सुविधाका लागि निवेदन दिएकोमा मन्त्रिपरिषद्ले लामो समय ‘लिंगरिङ’ गरेर निर्णय गरेको थियो । २०७७ मंसिर १८ गतेको मन्त्रिपरिषद्को एउटै बैठकबाट महरा र पौडेललाई सुविधा दिने निर्णय गराइएको छ । 

आत्मनिर्भर हुँदासम्म लिइनँ, अहिले लिएँ- रानाभाट

१५ वर्षपछि सरकारी गाडी सुविधा लिएका रानाभाटले आफू आत्मनिर्भर हुँदासम्म गाडी सुविधा नलिएको र अहिले लिएको प्रतिक्रिया दिएका छन् । 

‘सुविधा लिएँ त के फरक पर्‍यो र ? १५–१६ वर्षसम्म म आत्मनिर्भर थिएँ, त्यसकारण सुविधा लिइनँ,’ उनले भने, ‘अहिले आवश्यक पर्‍यो अनि सुविधाका रुपमा एउटा गाडी लिएको छु ।’

उनले सरकारले उपलब्ध गराएको सेवा सुविधा सबै भने नलिएको दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्