
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ।
यससँगै क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ।
हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने,‘पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ। तत्कालीन कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको छ र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्नेछ।’
गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्वकप्तान पारस खड्का र वर्तमान कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन्।