
सभामुख अग्निप्रसाद सापकोटाले माघी/माघे संक्रान्ति नेपालको भौगोलिक, जातीय र सांस्कृतिक विविधताको उत्तम उदाहरण भएको बताएका छन् ।
उनले भने, ‘विविधतासँग जोडिएर आएका संस्कृति, मुल्य र मान्यता हाम्रा मौलिक विशेषता हुन् । यस्ता पर्वहरूले हाम्रो नेपालीपनको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।’
सभामुखले २०७८ सालको माघी/माघे सङ्क्रान्ति पर्वका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा रहेकाले यो पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेका छन् ।
थारु समुदायले यस पर्वलाई ‘माघी’का रूपमा मनाउँछन् । थारुको यो नयाँ वर्ष आरम्भ पनि हो । मगर समुदाय लगायतले यस पर्वलाई माघे संक्रान्ति (मकर संक्रान्ति) का रूपमा मनाउने गर्दछन् । एकैदिन एउटै पर्वलाई भिन्नभिन्न भेग र समुदायमा फरक ढंगले मनाउने चलनकै कारण यसको फरक विशेषता र महत्त्व रहेको छ । यो पर्वलाई घिउ, चाकु, तिलको लड्डु, तरुल लगायत विभिन्न परिकार खाने दिनका रूपमा पनि लिइन्छ ।
सभामुखले यस पर्वले आपसी सद्भाव, आत्मीयता र एकता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।