कोरोनाकालमा सबै देशको अर्थतन्त्र धरमराएको भए पनि अर्बपतिहरूको सम्पत्ति बढेको पाइएको छ ।
अन्तर्राष्ट्रिय संस्था अक्सफ्यामको रिपोर्टअनुसार कोरोनाकालमा अर्बपतिहरूको सम्पत्ति लगभग ५ हजार अर्ब डलर बढेको छ ।
मार्च २०२० मा अर्बपतिहरूको कुल सम्पत्ति ८०.६ खर्ब डलर थियो भने नोभेम्बर २०२१ मा आइपुग्दा त्यो ११३.८ खर्ब डलर भयो । यो पछिल्लो १४ वर्षमा भएको जति वृद्धि हो ।
संसारका शीर्ष १० अर्बपतिहरूको सम्पत्तिमा दिनको १.३ अर्ब डलरको वृद्धि भएको छ । यसबीचमा उनीहरूको सम्पत्ति दुईगुणा बढेको छ ।
यी १० अर्बपतिको समूहसँग रहेको सम्पत्ति संसारका ३.१ अर्ब गरीबहरूको सम्पत्तिको तुलनामा ६ गुणा बढी छ ।
अक्सफ्यामले यी अतिधनाढ्यहरूमाथि टन्न कर लगाउन सरकारहरूलाई सिफारिश गरेको छ । करबाट उठेको रकम कोरोनाको खोप लगाउन र स्वास्थ्य व्यवस्थालाई थप राम्रो बनाउनमा खर्च गर्नुपर्ने अक्सफ्यामको भनाइ छ ।
अक्सफ्यामकी कार्यकारी निर्देशक गाब्रिएला बुचरले प्रेस विज्ञप्ति निकालेर कोरोनाकालमा केन्द्रीय बैंकहरूले हजारौं अर्ब डलर वित्तीय बजारमा लगाएको र अर्थतन्त्रलाई बलियो बनाउन खोजेको बताइन् । तर बजारमा यसरी पैसा लगाउँदा त्यसको धेरैजसो भाग अर्बपतिहरूको खल्तीमा पुग्यो ।