
कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भीड भने घटेको छैन ।
कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भीड नघट्दा जोखिम बढ्न थालेको छ ।
आइतवार ५ हजारभन्दा कममा कोरोना संक्रमण देखिएकामा सोमवार भने ६ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रत्येक दिन भाइरस संक्रमण हुनेको संख्या बढ्दै गएको छ । पशुपतिनाथ मन्दिरमा भीड बढ्न थालेपछि कसरी सुरक्षित रूपमा दर्शन गराउने भन्ने विषयमा छलफल भइरहेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।
‘संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निर्देशन अनुसार पशुपति क्षेत्रको व्यवस्थापन गर्ने तयारीमा छौं, अहिले भीड बढे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर मात्र मन्दिर प्रवेश गराएका छौं,’ उनले भने ।
पछिल्लो समय सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड सार्वजनिक यातायातमा पनि पालना भएको छैन । कार्यभार सम्हालेको १०० दिन पूरा गरेको अवसरमा विभिन्न मन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकारले तोकेको २५ जनाभन्दा बढीको सहभागिता देखिएको छ ।
सार्वजनिक यातायातमा सीट क्षमताअनुसार मात्र यात्रु राख्न पाइने नियम सरकारले सार्वजनिक गरे पनि कार्यान्वयन भएको छैन । यातायात व्यवस्था विभागलगायत सरोकार भएका निकायले अनुगमन गरेका छैनन् । यात्रु रश्मिला प्रजापति जानैपर्ने समयमा सवारी नपाउँदा उभिएरै यात्रा गर्न बाध्य हुनुपरेको गुनासो गर्छिन् ।
बजार, पसल लगायत स्थानमा पनि सरकारले तोकेकोभन्दा बढीको उपस्थिति छ तर कुनै पनि निकायले अनुगमन नगर्दा समस्या बल्झन सक्ने देखिएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउँछन् । बेलैमा उचित कदम नचाले अवस्था पहिलेको भन्दा भयावह हुनसक्ने भएकाले सरोकार भएका सरकारी निकायले अनुगमन गरेर मापदण्ड पालना गराउनुपर्ने उनको माग छ ।