
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित कुइन्स रेस्टुराँबाट लागूऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतवार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
रेस्टुराँको क्याबिनमा लागूऔषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले जाँच क्रममा लागूऔषध भेटेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका ३० वर्षीय भूगोल गुरुङ, २२ वर्षीय विप्लव सुवेदी, वडा नं १० बस्ने १८ वर्षीय युनिस नेपाली र ३ बस्ने १९ वर्षीय पूजा कार्की रहेको प्रहरी नायब उपरीक्षक घर्तीले बताए ।
चारै जनालाई हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।