
रूपन्देहीको बुटवलका विभिन्न शहरी स्वास्थ्य केन्द्रहरू व्यवस्थित भएका छन् ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा आधुनिक ल्याब सेवा सहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ ।
विस्तार भएका र ल्याब सहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको हालै एक समारोहबीच प्रमुख शिवराज सुवेदीले शुभारम्भ गरे ।
बुटवल वडा नम्बर २, वडा नम्बर १५, वडा नम्बर १६ र वडा नम्बर १९ मा शहरी स्वास्थ्य केन्द्र व्यवस्थित गरिएको छ । नयाँ संरचनामा नयाँ व्यवस्था सहितको स्वास्थ्य केन्द्रको प्रमुख सुवेदीले शुरू गरेका हुन् ।
नयाँ संरचनामा शुभारम्भ गरिएका स्वास्थ्य केन्द्रहरू र यसअघि नै व्यवस्थित गरिएका समेत गरी बुटवलमा हाल १२ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् । मोतीपुर र सेमलारमा स्वास्थ्य चौकी, नयाँगाउँ र बुद्धनगरमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र बाँकी ठाउँमा शहरी स्वास्थ्य केन्द्र छन् ।
शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र नयाँ गाउँमा मेडिकल अफिसर, स्वास्थ्यकर्मीहरू र एक्सरे, अल्ट्रासाउन्ड र मधुमेह परीक्षणको सुविधा समेत उपलव्ध छ । यी सबै स्वास्थ्य संस्थामा करीब ७५ प्रकारका औषधि निःशुल्क रूपमा वितरण हुँदै आएको छ ।
जनस्वास्थ्यको क्षेत्रमा मेडिकल अफिसरसहित ८१ जनाको जनशक्तिले सेवा प्रवाह गरिरहेको छ ।
बुटवल उपमहानगरका १९ वटै वडामा मेडिकल अफिसर र जनस्वास्थ्य अधिकृतले आधुनिक ल्याबसहित नियमित सेवा प्रवाह गरिरहेका छन् । साना–साना स्वास्थ्य समस्यालाई लिएर पनि उनीहरू स्वास्थ्य संस्थामा जान थालेका छन् ।
उपमहानगरमा रहेका विभिन्न १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले नियमित सेवा प्रवाह गर्दै आएका छन् ।
सरकारी तबरका स्वास्थ्य संस्थामा सेवाग्राही विश्वस्त हुन नसकेको र सेवा प्रवाह पनि प्रभावकारी नभएका गुनासा आइरहेका बेलामा बुटवल उपमहानगरपालिकामा सरकारीमै सेवा लिनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा नगरका सम्पूर्ण स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा लिने २१ हजार ४७३ जना रहेकोमा गत आव २०७५/७६ मा १० हजारभन्दा धेरैले वृद्धि भए । त्यस वर्ष मात्रै कूल ३२ हजार ८२१ जनाले सेवा लिएका उपमहानगरको शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखाको तथ्यांकमा छ ।
स्वास्थ्य संस्था नभएका वडामा वडा क्लिनिक सञ्चालन गरिएको थियो । जसअन्तर्गत आव २०७४/७५ मा ४ हजार ७०४ जनाले सेवा लिएकोमा गत आव ०७५/७६ मा वृद्धि भई ९ हजार ५९० जना सेवाग्राही पुगेका छन् ।
२०७६/०७७ मा त्यो संख्यामा वृद्धि भएर ४२ हजार ३५४ जनाले सेवा लिएका छन् भने ०७७/०७८ मा ४५ हजार ६२० जना र चालू आवको हालसम्मको अवधिमा मात्रै ३८ हजार जना जतिले समग्र स्वास्थ्य संस्थाबाट सेवा लिएका स्वास्थ्य शाखाका प्रमुख कल्पना भट्टराईले जानकारी दिइन् । यो संख्या उपमहानगर मातहत रहेका १२ वटा संस्थामा सेवा लिन आएका सेवाग्राहीको मात्रै हो ।
बुटवलमै रहेका आम्दा, प्रादेशिक अस्पताल र अरु अस्पतालमा सेवा लिनेको संख्या यसमा समावेश नरहेको जनाइएको छ । बुटवल उपमहानगरले सिद्धार्थ बाल तथा महिला अस्पतालमा उपमहानगरको अलग्गै खोप भण्डार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।