बैंकिङ कसूरमा दोषी ठहर भई १२ लाख जरिवाना तोकिएका एक व्यक्ति शुक्रवार जेल चलान भएका छन् ।
दोलखा घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्ने ४३ वर्षीय जीतेन्द्रबहादुर रिजाललाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएकामा अदालतले शुक्रवार नै उनलाई कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक काटी दिएकामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको हो ।
उनलाई २०७६ मा उच्च अदालत पाटनले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम दुई दिन कैद र १२ लाख जरिवाना हुने फैसला सुनाएको थियो ।
त्यसपछि फरार रहेका रिजाललाई ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले बिहीवार काठमाडौंबाट पक्राउ गरेको थियो ।