१४ असार २०८३, आइतबार

अचाक्ली महंगीले उपभोक्ता वाक्क !

माघ ८, २०७८
अचाक्ली महंगीले उपभोक्ता वाक्क !
प्रतिकात्मक तस्वीर

उफ ! महंगी । लामो स्वास लिँदै फूलमाया तामाङ भन्छिन्, ‘कसरी बालबच्चा पाल्ने ? कसरी आफू बाँच्ने ? सारै गाह्रो भयो ।’

अनामनगरमा कोठा भाडामा लिएर बसेकी फूलमायाले प्रत्येक महिना कोठा भाडाबापत ७ हजार रुपैयाँ तिनुपर्छ ।

फूलमाया अरूको घरमा भाडा माझ्ने र लुगा धोएर छोरा छोरी पाल्ने गर्छिन् ।

‘महिनामा १०–१५ हजार रुपैयाँ कमाइ हुँदा पहिला त खान पुग्थ्यो । अहिले त महिनाभरि खानै पुग्दैन,’ उनले भनिन् ।

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि बच्चालाई कसरी पाल्ने, घरको चुलो कसरी बाल्ने चिन्ता बढेको छ उनलाई । दुःखेसो पोख्दै तामाङ भन्छिन्, ‘बजारमा सामान किन्न जाँदा छोइसक्नु छैन महंगीले ।’

‘बजारमा १ किलो चिनीको १०० रुपैयाँ पर्छ, तेल, दाल, चामल, गेडागुडी सबै उतिकै महंगो छ । कसरी किनेर खाने ?’ फूलमायाले भनिन्, ‘चिसो छ तर चिनी महंगो भएकाले घरमा चिया पकाउन छोडिसकेकी छु । कमाइले नधानेपछि हप्ताको १ दिन छोराछोरीलाई कुखुराको मासु समेत खुवाउन छाडिसकेको छु ।’

काभ्रे घर भई हाल काठमाडौंको अनामनगरमा कोठा भाडा लिएर बस्दै आएकी सीता गुरुङको पीडा पनि फूलमायाको भन्दा फरक छैन । बढ्दो महंगीले उनको पनि रातको निद्रा उडाएको छ ।

सीता गुरुङ पनि दैनिक ज्याला मजदुरी गरेर महिनामा मुिस्कलले १२–१५ हजार रुपैयाँ कमाउँछिन् । कोठा भाडा ७ हजार रुपैयाँ तिर्नुपर्छ । उनलाई साथ दिने श्रीमान् सँगै छैनन् तर २ बच्चाको स्याहार सम्भार उनी आफैंले गर्नुपर्छ ।

उनी पनि अरूकै घरमा भाँडा माझ्ने र लुगा धुने गर्छिन् । दुःखेसो पोख्दै गुरुङ भन्छिन्, ‘महंगी जति बढे पनि हुने खानेलाई केही फरक पर्दो रहेनछ । फरक पर्ने भनेको हामीजस्ता गरीबलाई मात्र हो ।’

सीता गुरुङ र फूलमाया तामाङ त एउटा उदाहरण मात्र हुन् । पछिल्लो समय महंगीले आकाश छोएपछि सर्वसाधारणलाई दैनिक गुजारा गर्न कठिन भएको छ । सरकारी निकाय भने बजार महंगीलाई नियन्त्रण गर्न छोडेर मूकदर्शक बनेर बसेको छ ।

कुन वस्तुको मूल्य कति ?

खान पकाउने प्रतिसिलिन्डर ग्याँस – १५७५ रुपैयाँ
सूर्यमुखी तेल – २५० देखि २५५ रुपैयाँ
धारा तोरीको तेल – ३७० रुपैयाँ
भटमासको तेल – २४० रुपैयाँ
मासको दाल – १७० रुपैयाँ
नेपाली मासको दाल – २१० रुपैयाँ
मुसुराको दाल – १६० रुपैयाँ
रातो चना – ११० रुपैयाँ
केराउ – ११० रुपैयाँ
जिरा मसिना चामल – ७५ रुपैैँया
इस्टिम चामल – ७५ रुपैयाँ
चिनी – १०० रुपैयाँ
हरियो मटरा – १४० रुपैयाँ
मैदा – ५५ रुपैयाँ
आटा – ५० रुपैयाँ

स्रोत : खुद्रा व्यवसायी संघ नेपाल 

राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्