
नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ ।
पछिल्लो ६ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ ४ करोड ३६ लाख २६ हजार बढी राजस्व संकलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कारवाही गरेको छ ।
भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोबार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ । प्रहरीले सुन तस्करीमा २ जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लंघनमा २० हजार ५३५ सवारी साधन र सवारीसाधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
बाँके प्रहरीले पछिल्लो ६ महिनामा भन्सार चोरी पैठारीबाट ४ करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट ३ करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट १ करोड १२ लाख ३४ हजार ५०० रुपैयाँ र नदीजन्य पदार्थ उत्खननबाट ३ लाख ३० हजार गरी राजस्व संकलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
जुवातास कारबाहीबाट ९ लाख ५१ हजार ६१०, काठ तस्कर कारबाहीबाट ६ लाख ५३ हजार ९००, क्वारेन्टीन नगराइएका कुखुरा तथा माछा मासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५१४ गरी ९ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको उनको भनाइ छ ।
प्रहरीले गत वर्ष यो अवधिमा २ करोड ७५ लाख ३४ हजार ७३८ राजस्व संकलन गरेको थियो ।