१० साउन २०८३, आइतबार

विराट राजाको दरबार उत्खनन्

माघ ८, २०७८
विराट राजाको दरबार उत्खनन्

मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन भइरहेको छ । पुरातत्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ ।

विराट राजाको दरबार क्षेत्र भनिएको स्थानमा विसं २०२६ मा पुरातत्व विभागबाट आएका अधिकृत तारानाथ मिश्रले उत्खनन कामको सुरुआतपछि विभागबाट प्रकाश दर्नाल, उद्धव आचार्य, शालिकराम कट्टेल, सन्दीप खनालले थोरबहुत उत्खननको काम गरिसकेपछि गएको पुस २६ गतेदेखि पुरातत्व विभागबाट खटिएका पुरातात्विक अधिकृत भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खननको काम जारी छ ।

सम्भवतः अझ दुई दिन उत्खननको काम हुने अधिकृत ज्ञवालीले बताए । उनले विराट राजा दरबार भनिएको स्थानमा अहिले उत्खनन गर्दा एउटा ऐतिहासिक मन्दिर देखिएको छ भने मन्दिरदेखि २०० मिटर पश्चिम स्थानीय महेन्द्र मण्डलले जोतभोग गरेको जग्गामा केही भागमा उत्खनन गर्दा दोस्रो शताब्दीको पहिचान हुने किसिमको घना बस्ती हुनसक्ने अनुमान गरिएको छ ।

उत्खनन गर्दा खासै महत्वपूर्ण वस्तु फेला नपरे पनि त्यस समयमा प्रयोग हुने ३४ सेमी लम्बाइ, २५ सेमी चौडाइ र पाँच सेमी मोटाइ भएको इँटा पाइएको छ । त्यहाँ माटा अन्य सामग्री पनि फेला परेको र यसलाई सफा गरेर प्याकेजिङको काम भइरहेको बताइएको छ ।

मानव बस्ती, एकीकृत भन्सार जाँचचौकीसमेतले अतिक्रमण भएको विराट राजाको दरबार क्षेत्र खुम्चिएको छ भने यहाँ लगभग १३ देशका पुरातात्विक विभागका मानिसले अवलोकन गरिसकेको विराट राजाको रेखदेख एवं संरक्षणमा लाग्नुभएका स्थानीय नवकिशोर यादवले बताए । उनले विराट राजाकै दरबार हो भन्ने कुरामा दुईमत नरहेको भन्दै विराट राजाको दरबार लगभग डेढ किमी उत्तरपूर्व, दक्षिण र पश्चिमसम्म फैलिएको अनुमान लगाउन सकिने बताए । उनले यहाँ फेला परेका वस्तुमा सिमाला, पुवाँलो, पुलिङ, रत्न, निलम, ग्रेनाइट, लसुनिया, गमेद, लाल मुँगा र रुवेस्ट तथा केही सिक्का सुरक्षित राखेको जानकारी दिए ।

विसं २०५२ मा सपना देखेर नै यसको रेखदेख एवं संरक्षणमा लागेदेखि आफूले यहाँ अतिमूल्यवान वस्तुहरू फेला पारेको र यी सबै वस्तुहरू आफ्नै सङ्ग्रहालयमा सुरक्षित राखेका जानकारी दिए ।

विराट राजा दरबार क्षेत्रमा किचकबध पोखरीसहित थप संरचना देखिएको पुरातात्विक अधिकृत ज्ञवालीले प्रष्ट पार्दै भने, “झापाको किचकबध र यो विराट राजाको दरबारको भग्नावशेष हेर्दा एउटै समयको हो ।”

salt training

कमेन्ट गर्नुहोस्