मुलुकको अर्थतन्त्र संकग्रस्त अवस्थामा धकेलिरहेका बेला अर्थतन्त्र ‘ठीकठाक’ रहेको आशयका साथ सरकारको बागडोर सम्हालिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले हालै देशवासीका नाममा सम्बोधन गरेका छन् । तथ्यलाई ढाकछोप गर्दै उनी लय छाडिसकेको अर्थतन्त्रको बचाउमा उत्रिएका हुन् ।
स्वायत्त निकाय नेपाल राष्ट्र बैंक, नेपालको ठूलो दातृ निकायका रूपमा रहिआएको विश्व बैंकले मुलुकको अर्थतन्त्र र आर्थिक सूचकांक सकारात्मक नरहेको तथ्य बाहिर ल्याए पनि सरकारले ६ महीना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले हालै देशवासीको नाममा सम्बोधन गर्दै मुलुकको अर्थतन्त्रमा सुधार भएको दाबी गरे ।
बितेको ६ महीनामा आर्थिक क्रियाकलापमा अपेक्षित सुधार भएको, निर्यातमा बढिरहेको तथा अर्थतन्त्रका सूचकहरू सुधारात्मक रहेको बताए पनि अर्थतन्त्रका विद्यमान समस्या र चुनौतीबारे उनको सम्बोधनले कतै छुँदै छोएन ।
प्रधानमन्त्री देउवाले चालू आवको आर्थिक वृद्धिदर गतवर्षको भन्दा माथि रहने दाबी गरे। नेपालको ठूलो दातृ निकाय विश्व बैंकले गतवर्ष १ दशमलव ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त भएको अनुमान गरेको थियो । र, चालू आर्थिक वर्षमा पनि ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । सरकारले बजेटमार्फत चालू वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने बताएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले बारम्बार लक्ष्य पूरा हुने दाबी प्रस्तुत गर्दै आएका छन् । तर, चालू आर्थिक वर्षको आधा समय बितिसक्दा पनि विकासलक्षित पूँजीगत खर्च १४ प्रतिशतको हाराहारी मात्रै छ । यसले गर्दा बजेटले तोकेको लक्ष्यअनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने निश्चित छ ।
नेपाल राष्ट्र बैंकले चालू वर्ष सरकारले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुनै मुश्किल रहेको बताउँदै आएको छ । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।