
कैलालीमा १८ वर्षपछि लक्ष्मण सारस देखापरेका छन् ।
टीकापुर नगरपालिकाको श्रीलङ् का टापुस्थित कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा १४ वटा लक्ष्मण सारस देखापरेका हुन् ।
यही वर्ष सो क्षेत्रमा पहिलो पटक ‚वेतमाथा कलहाँस पनि देखिएका थिए ।
नेपालमा पाइने चार प्रजातिका सारसमध्ये लक्ष्मण सारस आगन्तुक प्रजाति रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन)मा कार्यरत चराविद् हिरुलाल डङ् गौराले बताए ।
उनका अनुसार कैलालीमा लक्ष्मण सारस देखिएको यो दोस्रो पटक हो । यसअघि सन् २००६ मा संरक्षणकर्मी विजयराज श्रेष्ठले भजनी नगरपालिकाको मन्त्रीफाँटामा सो प्रजातिका चरा अभिलेख गरेका थिए ।
त्यसपछि यो जिल्लामा लक्ष्मण सारस देखिएका थिएनन् । १८ वर्षपछि कर्णाली नदीको बगरमा पुनः देखिएका हुन् ।
बीसीएनका अनुसार नेपालमा सबैभन्दा पहिले १९औँ शताब्दीमा तराई, हेटौँडा र काठमाडौँ उपत्यकामा लक्ष्मण सारस देखिएका थिए ।
नेपालमा पाइने चार प्रजातिमध्ये कालो टाउके र लक्ष्मण सारस विश्वमै दुर्लभ मानिन्छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)को रातोसूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने रैथाने चरा हो तर कालो टाउके सारस भने आक्कलझुक्कल देखिने गरे पनि हुम्लाको लिमीमा प्रजनन गरेको अभिलेख छ । गोरखापत्र दैनिकमा खबर छ ।