
हवाइ क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा पहिलोपटक वरिष्ठता मिचेर महानिर्देशक नियुक्त गरिएको छ ।
पर्यटन मन्त्री प्रेमबहादुर आलेको जोडबलमा मन्त्रिपरिषदले ११ औं तहका प्रदीप अधिकारीलाई सोमवार महानिर्देशक नियुक्त गरेको हो ।
अधिकारीले बिहीबार पदबहाली समेत गरिसकेका छन् ।
प्राधिकरणमा ३५ वर्षसम्म काम गरेका ६ जना वरिष्ठ उपमहानिर्देशक हुँदाहुँदै सेवा प्रवेश गरेको १४ वर्ष भएका अधिकारी राजनीतिक नेतृत्वलाई प्रभावित पार्दै महानिर्देशक बन्न सफल भएका छन् ।
अधिकारी सर्वाधिक विवादास्पद र अनियमितताका कैयन आरोप लागेका कर्मचारी समेत हुन् ।

अझै १५ वर्षभन्दा बढी सेवा अवधि बाँकी रहेका अधिकारीको नियुक्तिले प्राधिकरणको इतिहासमै अहिलेसम्मको अभ्यास र वरिष्ठताको सिद्धान्त तोडेको छ ।
अधिकारीले १२ औं तहमा बढुवा हुन नचाहेको र एकैपटक ११ औं तहबाट महानिर्देशक हुँदा लामो समय पदमा बस्न पाइने इरादा व्यक्त गरेको स्रोतले बतायो । १२ औं तहमा गएपछि ६ वर्षमा अनिवार्य अवकाश हुने व्यवस्था छ ।
अधिकारीको नियुक्तिले उड्डयन प्राधिकरणमा क्षमता र योग्यताभन्दा राजनीतिक पहुँच र चलखेल गर्ने व्यक्तिको हालीमुहाली शुरू भएको प्रस्ट संकेत गरेको छ । ६ जना वरिष्ठ हुँदाहुँदै जुनियर नेतृत्वमा पुग्नुले मातहतका कर्मचारीमा नै मर्यादा कायम गर्नुपर्छ भन्ने भावना हराउने खतरा बढेको पूर्व सचिव तथा सार्वजनिक संस्थान निर्देशन बोर्डका पूर्व अध्यक्ष विमल वाग्लेको भनाइ छ ।
संस्थाको प्रमुख हुनु भनेको वरिष्ठ नेतृत्वले मातहतका कर्मचारीलाई मार्गनिर्देशन गर्नु भन्ने पनि हो । जुनियर हाकिम हुने र सिनियरलाई पन्छाउने गर्दा मातहतमा मर्यादा कायम नहुने र कमाण्ड गर्न गाह्रो पर्ने बुझाइ वाग्लेको छ ।
‘त्यही संस्थामा माथि क्षमतावान र योग्य व्यक्ति हुँदाहुँदै तलबाट कनिष्ठलाई नेतृत्व दिनुले भोलिका दिनमा क्षमता नभएकाले पनि राजनीतिक लबिङबाट पद हत्याउन सक्ने हुन्छ,’ उनले भने ।
यसले संस्था कमजोर हुन्छ भने पदमा लडाइँ गर्ने अभ्यास अब जोसुकै कर्मचारीमा हुने देखिएको वाग्लेको बुझाइ छ ।
कुनै पनि संस्थामा उपलब्ध भएसम्म वरिष्ठ र क्षमतावान व्यक्ति नै नियुक्त हुनुपर्छ, अन्यथा कर्मचारीको मनोबल बिग्रने पूर्व मुख्यसचिव विमल कोइरालाको भनाइ छ ।
‘कर्मचारीको चेन अफ कमाण्ड बिग्रने र कर्मचारीभित्रै गुटगत राजनीति गर्ने वातावरण जहाँ कनिष्ठलाई नियुक्त गरिन्छ, त्यहीँबाट शुरू हुन्छ ।’
कर्मचारी प्रशासनमा एकदिन भए पनि वरिष्ठ हेर्ने गरिनु नै अहिलेसम्मको अभ्यास हो भने यो एक प्रकारको नियम पनि हो ।
सरकारले गर्ने नियुक्तिमा नियम नै नमान्ने भन्ने नहुने उनको तर्क छ । चलिआएको अभ्यासलाई तोड्ने हो भने संस्था कमजोर मात्रै बन्ने तर्क कोइरालाले गरे ।
आर्थिक चलखेलमा पदको बिक्री हुन थाल्यो ः पूर्व महानिर्देशक
नागरिक उड्डयन प्राधिकरणका अधिकांश पूर्व महानिर्देशकले वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई नियुक्ति गर्नुले आर्थिक चलखेलमा पद बिक्री गरेको प्रस्टै भएको बताए ।
लोकान्तरसँगको कुराकानीमा प्राधिकरणका पूर्व महानिर्देशकहरूले अहिलेसम्मको वरिष्ठताको अभ्यासलाई कुल्चिँदा र ११ औं तहका व्यक्तिले अवसर पाउँदा भोलिका दिनमा ८/९ औं तहका कर्मचारीले पनि लबिङ गरेर पद हत्याउन सक्ने चिन्ता समेत व्यक्त गरे ।
प्राधिकरणका एक पूर्व महानिर्देशकले भने, ‘प्राधिकरणमा १२ औं तहका उपमहानिर्देशक वा पर्यटन मन्त्रालयबाट सहसचिव आउने व्यवस्था छ ।’
यसअघि प्राधिकरणमा १२ र ११ औं तहका कर्मचारी नहुँदा पर्यटन मन्त्रालयका सहसचिव नगेन्द्र घिमिरे महानिर्देशक भएको स्मरण एक पूर्व महानिर्देशकले गरे । त्यति बेला १० औं तहका कमल केसीलाई निमित्त दिँदा समेत वरिष्ठता मिचिएको थिएन ।
उनका अनुसार प्राधिकरणमा वरिष्ठमध्ये एउटै व्यचमा नियुक्त भएका व्यक्तिले अवसर पाउने गरेका थिए भने अहिले त विरक्त लाग्ने अभ्यास भयो ।
ती पूर्व महानिर्देशकले भने, ‘६ जना वरिष्ठ र क्षमतावान उपमहानिर्देशकलाई पन्छाएर निर्देशकलाई नेतृत्वमा पुर्याउने भनेको आर्थिक चलखेल हो, जुन प्रस्टै अनुमान लगाउन सकिने विषय हो ।’
‘ज्येष्ठता मिच्ने, नेताले पैसामा महानिर्देशकको पद बेच्ने फोहोरी खेल स्पष्टै देखियो,’ उनले भने ।
यसले वरिष्ठ र कनिष्ठबीच द्वन्द्व हुने र असन्तुष्टि बढेर कार्यालयको कामै नहुने वातावरण सिर्जना हुने उनको बुझाइ छ ।
अर्का पूर्व महानिर्देशकले भने, ‘कनिष्ठ नेतृत्वमा पुगेपछि अहंकार बढ्छ भने उसले वरिष्ठलाई पेल्न थाल्छ । यस्तो अभ्यासले जुनियर कर्मचारी नेतृत्वको चाकडी गरेर आफूअनुकुल बढुवा, सरुवा खोज्न थाल्ने र सिनियरलाई नटेर्ने समस्या पनि आउँछ ।’
अधिकारीको नियुक्तिले संस्था राजनीति गर्ने थलो बन्न लागेको प्रस्ट भएको उनको भनाइ छ ।
कनिष्ठको अन्डरमा कसरी काम गर्छन् उपमहानिर्देशकले ?
प्राधिकरणको विभिन्न ६ वटा महत्त्वपूर्ण विभाग तथा कार्यालयको नेतृत्व तिनै उपमहानिर्देशकले गरिरहेका छन् ।
सबैभन्दा वरिष्ठ उपमहानिर्देशक भोलाप्रसाद गुरागाईंले प्राधिकरणमै ३५ वर्ष सेवा गरिसकेका छन् ।
उनी यही फागुन १७ देखि अनिवार्य अवकाशमा जाँदैछन् । गुरागाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महानिर्देशकको जिम्मेवारीमा छन् ।
त्यसपछि उमेरका हिसाबले वरिष्ठ उपमहानिर्देशक गोविन्दप्रसाद दाहाल हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुखमा रहेका दाहालको भने अर्को वर्ष फागुनसम्म सेवा अवधि बाँकी छ ।
बाँकी चार जना उपमहानिर्देशक प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण र प्रेमनाथ ठाकुरको सेवा अवधि ५ वर्षभन्दा बढी छ ।
प्राधिकरणको नियमले १२ औं तहमा ६ वर्ष सेवा गरेको वा ५८ वर्ष पूरा जुन छिटो हुन्छ, सोही अनुसार अवकाशमा जानुपर्छ ।
५ वर्ष भन्दा बढी सेवा अवधि रहेका यी उपमहानिर्देशकलाई आफूभन्दा जुनियरसँग काम गर्न गाह्रो हुने र जुनियर महानिर्देशकमा दम्भ उत्पन्न हुँदा मिलेर काम गर्न समस्या हुने एक उपमहानिर्देशकले तर्क गरे ।