०५ असार २०८३, शुक्रबार

९ दिनमा ३ साझेदारको हत्या

माघ २२, २०७८
९ दिनमा ३ साझेदारको हत्या

जग्गाको कारोबार गर्दा आएको रकम एकलौटी बनाउने मनसायले व्यावसायिक साझेदारको योजनामा तीनजनाको हत्या भएको खुलेको छ। नौ दिनभित्र अलगअलग मिति र समयमा तीन जनाको हत्या गरी खाल्डो खनेर शव पुरिएको हो। खाल्डोभित्र व्यवस्थापन गरिएकामध्ये मोरङको धनपालथानमा दुई र ललितपुरको गोदावरीमा एकजनाको शव भेटिएको थियो।

मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षीय शम्भुकुमार चौधरीको शव अलगअलग खाल्डोमा फेला परेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार स्थानीय दिलीप सिंहको उखुबारीमा खनिएको खाल्डोभित्र चौधरीको माघ १२ र श्रेष्ठको शव माघ १३ गते भेटिएको हो। भर्खरै खनिएको खाल्डो देखेपछि माघ १२ गते साँझ उखु काट्ने कामदारले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले एउटा खाल्डोबाट चौधरीको शव र करिब ३० मिटरको दूरीमा रहेको अर्को खाल्डोबाट श्रेष्ठको शव फेला परेको हो।

हत्या गरेर ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोमा गाडेको अवस्थामा बिहीबार तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको शव फेला परेको थियो। मोरङमा दुईवटा शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले त्यसअघि नै ललितपुरमा हत्या गरेर लिम्बूलाई गाडिसकेको पत्ता लगाएको हो। जग्गाको काम गर्दा आउने कमिसनको लोभमा तीनजना साझेदारको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

प्रारम्भिक अनुसन्धानबाट भाडाका भारतीय र नेपाली अपराधी प्रयोग गरेर हत्या गरेको देखिएको प्रहरी स्रोतले भन्यो । घटना गराउने तीन जनालाई पक्राउ गर्न सफल भए पनि अरूको खोजी तीव्र पारिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका– २१ घर भई काठमाडौंको बल्खु बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीका २९ वर्षीय अमित भन्ने दिनानाथ साह र धनपालथान गाउँपालिका– ७ कमलपुर पश्चिमटोलका ६२ वर्षीय नासिर आलम रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्