०७ असार २०८३, आइतबार

झन् पेचिलो बन्दै एमसीसी, माधव नेपालले दिए यस्तो चेतावनी

फागुन १, २०७८
झन् पेचिलो बन्दै एमसीसी, माधव नेपालले दिए यस्तो चेतावनी

अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसदबाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सो विषयमा असहमति राख्दै आइरहेका छन् ।

प्रधानमन्त्री देउवाले शनिबार दाहाल र नेपाल दुवै नेतालाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएर एमसीसी अघि बढाउन सहयोग मागेका थिए।

तर, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले एमसीसी अघि बढाए गठबन्धन र स्थानीय तह निर्वाचनमा असर गर्ने भन्दै निर्वाचनपछि साझा सहमतिबाट अघि बढाउने गरी अघि बढ्न देउवालाई आग्रह गरे।

'प्रधानमन्त्रीले एमसीसी जसरी पनि अघि बढ्छ, सहयोग गर्नुस् भनेर दाहाल र नेपाललाई आग्रह गर्नुभयो तर उहाँहरू दुवैले यथास्थितिमा सहयोग गर्न नसकिने जवाफ दिनुभयो, उहाँहरूको प्रस्ताव स्थानीय तह निर्वाचनपछि एमसीसीमा साझा धारणासहित अघि बढौं भन्नेछ,' प्रधानमन्त्रीनिकट नेपाली कांग्रेसका एक नेताले भने ।

दाहाल र नेपालको सो आग्रहपछि प्रधानमन्त्री देउवाले भने एमसीसीलाई संसद्मा टेबुल गर्न दिन भनेका थिए।

सो क्रममा उनले संसद्मा एमसीसी पेस भइसकेपछिको बाँकी प्रक्रियामा आफ्नो निर्णय लिन दाहाल र नेपाललाई आग्रह गरेका छन् ।

तर, नेकपा एसका अध्यक्ष नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे घोषित स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिन सक्ने चेतावनी प्रधानमन्त्रीलाई दिएका छन् । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्