२९ असार २०८३, सोमबार

उपत्यकाको फोहोर बिसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य

उपत्यकाको फोहोर बिसर्जनमा संघीय सरकारले तत्काल समाधान खोज्नुपर्छ : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर बिसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

पासाङल्यामू राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरवाही भएको भन्दै पीडित स्थानीयले आइतवारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर बिसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराए ।

‘स्थानीयको आन्दोलनका कारण फोहोर बिसर्जनमा अवरोध भएपछि काठमाडौं महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्गन्ध फैलिएर थप समस्या हुनसक्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर बिसर्जनको अवरोध हटाउन आग्रह गर्दछु ।’

उनले २०७० सालदेखि शुरू गरेको बाटो हालसम्म बन्न नसक्दा पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर बिसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए । ‘यस्तो विषयमा सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्बन्धित निकायले पहल गरोस् ।’

बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिँदा गाली काठमाडौं महानगरपालिकाले खानुपरेको पनि उनले बताए । ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ,’ प्रमुख शाक्यले भने, ‘त्यसैले फोहोरको राजनीति कसैले नगरौं । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौं ।’

शाक्यले बञ्चरे डाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताए । ‘सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर बिसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर बिसर्जनमा थप समस्या सिर्जना हुन्छ,’ उनले भने, ‘त्यसले काठमाडौं महानगर र उपत्यका नै दुर्गन्धले भयावह हुने खतरा बढी छ । त्यसैले छिटोभन्दा छिटो बञ्चरेडाँडाको काम सम्पन्न गरी काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

salt training

कमेन्ट गर्नुहोस्