
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा विरोध कायम राख्ने भएको छ ।
सरकारले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबुल गर्ने तयारी गरिरहँदा एमालेले संसद्मा अवरोध जारी राख्ने जनाएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले विगतमा जस्तै संसद्मा आफूहरूको विरोध कायम रहने बताए ।
‘हाम्रो पोजिसनमा केही फेरबदल आएको छैन, विगतमा जस्तै विरोध जारी रहन्छ,’ भट्टराईले लोकान्तरसँग भने, ‘हाम्रा माग पूरा नभएकाले उही कुरा दोहोर्याउन कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी हुँदैनौं ।’
सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमा सरकारले एमसीसी टेबुल गर्ने प्रस्ताव राख्ने तयारी गरेको छ । प्रतिपक्षी दलको विरोधका बावजूद एमसीसी टेबुल भए एमालेले रणनीति बदल्ने बताएको छ ।
‘अवसरवादी सत्ता गठबन्धनमा नै सहमति नभएकाले एमसीसी अगाडि बढ्ला जस्तो लाग्दैन, एमालेको विरोधका बावजूद अगाडि बढ्यो भने हामीले रणनीति बदल्छौं,’ उनले भने ।
एमसीसीको पक्ष या विपक्षमा आधिकारिक धारणा नबनाएको एमाले अन्तिममा विपक्षमा उभिने तयारी गरेको छ ।
लामो स्थगनपछि प्रतिनिधि सभाको बैठक बुधवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।