
उद्यमशीलता विकास, दिगो पर्यटन, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रबद्र्धन गर्ने उद्देश्यले नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ ।
कम्युनिटी होमस्टे नेटवर्कको प्रधान कार्यालय दरबारमार्गमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले हस्ताक्षर गरे ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उद्देश्यका साथ नबिल बैंकले लिएको दिगो बैंकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने बताए ।
साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास, आन्तरिक तथा बाह्य पर्यटन प्रबर्धन गर्दै दिगो आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्ने उनको भनाइ छ ।
कम्युनिटी होमस्टे नेटवर्कको तर्फबाट अध्यक्ष शिव प्रसाद ढकालले यस सम्झौताले कम्युनिटी होमस्टे नेटवर्कलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय समुदायमा अझ बढि फैलाई देशको दिगो आर्थिक विकासमा सहयोग गर्ने आशा व्यक्त गरे । कम्युनिटी होमस्टे नेटवर्क एक सामाजिक उद्यम हो जसले नेपालमा सामुदायिक होमस्टेहरूको नेटवर्कलाई प्रबर्धन गर्दछ ।
सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत नबिल बैंकले उद्यमशीलता विकास र दिगो पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा लिएको बैंकले जनाएको छ ।