
विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गरी झापा पुर्याइएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका-६ की पुष्पा दाहालका छोराछोरीलाई शुक्रवार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्धार गरेको हो ।
सैनामैनाको प्रभाव बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षीय प्रसिद्ध (छोरा) र ९ वर्षीया प्रसन्न (छोरी) बिहीवारदेखि घर नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए । विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो ।
उनीहरू विद्यालय बस चढेर गएका थिए । तर, बीच बाटो मुर्गियामा गाडी रोकेर ‘फोटो खिच्नु छ’ भन्दै बालबालिकालाई गाडीबाट झारेर अपहरण शैलीमा लगेका थिए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झापाबाट बालबालिकालाई सकुशल फेला पार्न सफल भएको बताए ।
‘नजिकैको आफन्त पर्नेले विद्यालयको बसलाई मुर्गियामा रोकेर फोटो खिच्न छ भन्दै बालबालिकालाई झारेर अपहरण गरी लगेको देखियो,’ केसीले लोकान्तरसँग भने, ‘बालबच्चालाई ललाइफकाइ गाडीबाट झारेछ । बस चालक र सहयोगीको पनि गल्ती देखिन्छ । नचिनेको व्यक्तिले बीचमै गाडी रोकेर बालबच्चा झार्न दिनु गलत त्यहीँ भएको देखियो ।’
उनले अपहरणकारीका बारेमा शनिवार विस्तृत जानकारी दिने बताए ।
‘अहिले अपहरणकारीको नाम भन्न मिल्दैन प्रहरीले अपहरणकारीसहित बालबच्चा झापाबाट रुपन्देही ल्याउँदैछ । विस्तृत जानकारी हामी भोलि दिन्छौं,’ उनले भने ।
विद्यालयका प्राचार्य अनन्तराम शर्माले बच्चाहरू विद्यालयमै नआएको बताए । प्रहरीले विशेष अनुसन्धान टोलीले २४ घण्टामा पूर्व नेपालबाट उनीहरूलाई उद्धार गर्न सफल भएको हो ।