१४ असार २०८३, आइतबार
आफन्त नै अपहरणकारी !

स्कुल बस ढुकेर बालबालिकाको अपहरण, बुटवलबाट पुर्‍याइयो झापा

फागुन ६, २०७८
स्कुल बस ढुकेर बालबालिकाको अपहरण, बुटवलबाट पुर्‍याइयो झापा
सांकेतिक तस्वीर।

विद्यालय हिँडेका रूपन्देहीका दुई बालबालिकालाई अपहरण गरी झापा पुर्‍याइएको अवस्थामा प्रहरीले फेला पारेको छ । 

रुपन्देहीको सैनामैना नगरपालिका-६ की पुष्पा दाहालका छोराछोरीलाई शुक्रवार दिउँसो झापाको बिर्तामोडबाट प्रहरीले उद्धार गरेको हो । 

सैनामैनाको प्रभाव बोर्डिङ स्कुलमा पढ्ने १२ वर्षीय प्रसिद्ध (छोरा) र ९ वर्षीया प्रसन्न (छोरी) बिहीवारदेखि घर नआएपछि परिवारले विद्यालयमा फोन गरेका थिए । विद्यालयले विद्यार्थी स्कुल नआएको बताएपछि अपहरणमा परेको पुष्टि भएको थियो । 

उनीहरू विद्यालय बस चढेर गएका  थिए । तर, बीच बाटो मुर्गियामा गाडी रोकेर ‘फोटो खिच्नु छ’ भन्दै बालबालिकालाई गाडीबाट झारेर अपहरण शैलीमा लगेका थिए । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख मनोज केसीले झापाबाट बालबालिकालाई सकुशल फेला पार्न सफल भएको बताए । 

‘नजिकैको आफन्त पर्नेले विद्यालयको बसलाई मुर्गियामा रोकेर फोटो खिच्न छ भन्दै बालबालिकालाई झारेर अपहरण गरी लगेको देखियो,’ केसीले लोकान्तरसँग भने, ‘बालबच्चालाई ललाइफकाइ गाडीबाट झारेछ । बस चालक र सहयोगीको पनि गल्ती देखिन्छ । नचिनेको व्यक्तिले बीचमै गाडी रोकेर बालबच्चा झार्न दिनु गलत त्यहीँ भएको देखियो ।’

उनले अपहरणकारीका बारेमा शनिवार विस्तृत जानकारी दिने बताए । 

‘अहिले अपहरणकारीको नाम भन्न मिल्दैन प्रहरीले अपहरणकारीसहित बालबच्चा झापाबाट रुपन्देही ल्याउँदैछ । विस्तृत जानकारी हामी भोलि दिन्छौं,’ उनले भने । 

विद्यालयका प्राचार्य अनन्तराम शर्माले बच्चाहरू विद्यालयमै नआएको बताए । प्रहरीले विशेष अनुसन्धान टोलीले २४ घण्टामा पूर्व नेपालबाट उनीहरूलाई उद्धार गर्न सफल भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्